कप्तान पारसको अर्धशतक, ‘लिस्ट ए’मा हजार रन पूरा गर्ने पहिलो नेपाली

काठमाडौँ- नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का लिस्ट ए क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।

विश्वकप छनौट अन्तर्गत स्कटल्याण्डविरुद्ध अर्धशतक बनाउँदै कप्तान पारसले सो उपलब्धि हासिल गरेका हुन् ।

स्कटल्याण्डविरुद्ध टम सोलको बलमा क्याच आउट हुनअघि उनले ७५ बलमा ६३ रन बनाए ।

लिस्ट ए क्रिकेटमा ३० खेल्दै पारसले १ हजार ५४ रन बनाउन सफल भएका छन् ।

यसक्रममा उनले २ शतक र ७ अर्धशतक हिर्काएका छन् ।

उनको औसत ३६.३४ रहेको छ ।

कप्तान पारसले सन् २०१४ मा युएईविरुद्ध लिस्ट ए क्रिकेटमा डेब्यु गरेका थिए ।

सन् २००९ देखि उनी राष्ट्रिय टोलीको कप्तान रहेका छन् ।