क्रिकेट कप्तान पारस वैवाहिक सम्बन्धमा बाँधिदै

तस्विर प्राप्तिको फेसबुकबाट

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले केही वर्षदेखिको प्रेम सम्बन्धलाई वैवाहिक बन्धनमा परिणत गर्ने भएका छन्। पारसले आफ्नी प्रेमिका प्राप्ति राज्यलक्ष्मी राणासँग यही फागुन १४ गते विवाह गर्न लागेको हुन्।

पारस र प्राप्तीबीच दुई वर्ष अघि नै इन्गेजमेन्ट भएको थियो। प्राप्ति काठमाडौं स्व. दिपविक्रम राणा र गौरी राज्यलक्ष्मी राणाकी छोरी हुन।

पारस र प्राप्तिको जोडी लामो समयदेखि प्रेममा भएपनि उति चर्चामा आएको थिएन। उनीहरु सार्वजनिक ठाउँमा पनि कम देखिएका छन्। एक पटक मात्र यो जोडी सँगै गोकर्ण रिसोर्ट पुगेको फोटो सार्वजनिक भएको थियो।

२०४४ सालमा जन्मिएका पारस नेपाली राष्ट्रिय टोलीका भरपर्दो खेलाडी हुन्। प्रथम स्तरको क्रिकेटमा २००४ मा मलेसिया विरुद्धको खेलमा डेब्यु गरेका पारसको नेतृत्वममा रहेको नेपालले डिभिजन ४, डिभिजन ३ जितिसकेको छ भने यसै वर्ष नेपालले नामिबियामा डिभिजन २मा उत्कृष्ट प्रदरर्शन गर्दै डिभिजन एकमा बढुवा भएको हो। यसअघि नेपाली क्रिकेटर प्रदीप ऐरी र अमृत भट्टराईले पनि विहे गरिसकेका छन्। यस्तै सञ्जम रेग्मी पनि विहेको तयारीमा छन।