राष्ट्रपति निर्वाचनमा कांग्रेससामु दुई विकल्प : विद्या उठे महिला नै तयार !

काठमाडौं– राष्ट्रपतिको निर्वाचनमा नेपाली काँग्रेसले उम्मेदवारी दिने भएको छ । त्यसका लागि काँग्रेस २ विकल्पसहित उम्मेदवारको खोजीमा लागेको छ । तर, काँग्रेसले बाम गठबन्धनबाट राष्ट्रपतिको उम्मेदवार छनोट भएपछि मात्रै आफ्नो उम्मेदवार सार्वजनिक गर्ने भएको छ ।
काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले काँग्रेसको मंगलबार बेलुका बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उम्मेदवारबारे टुङगो लगाउने बताए ।
उनले राष्ट्रपतिमा काँग्रेसको उम्मेदवार उठ्ने निश्चित भएपनि व्यक्तिबारे औपचारिक निर्णय भैनसकेको बताए ।
काँग्रेस नेताहरुका अनुसार काँग्रेसले बाम गठबन्धनबाट राष्ट्रपतिमा उठाउने उम्मेदवार हेरर मात्रै आफ्नो उम्मेदवार चयन गर्नेछ । काँग्रेस श्रोतका अनुसार गठबन्धनले वर्तमान राष्ट्रपति विद्या भण्डारीलाई नै उम्मेदवार बनाए काँग्रेसले पनि महिलालाई नै अघि सार्नेछ । तर, गठबन्धनले अरु कुनै पुरुष उम्मेदवार बनाए नेता मान बहादुर विश्वकर्मालाई उठाउने लगभग निश्चित जस्तै छ ।
‘बर्तमान राष्ट्रपति विद्या भण्डारी काँग्रेसप्रति असहिष्णु बनेकाले विद्याका विरुद्ध शक्तिशाली नेतालाई नै अघि सार्नू स्वभाविक हो, त्यसमा दुईमत छैन, तर अरु नै उम्मेदवार भए विचार गर्न सकिन्छ’ प्रवक्ता शर्माले बताए ।
राष्ट्रपति विद्या भण्डारीले आफ्नो नेतृत्वको सरकारले राष्ट्रिय सभा सदस्य नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिलाई अल्झाएर राष्ट्रपति भण्डारी दलीय पक्षपातमा उत्रिएको भन्दै भण्डारीसँग काँग्रेस असन्तुष्ट रहँदै आएको छ ।
प्रतिनिधि सभाको सभामुखमा भने काँग्रेसले उम्मेदवारी नदिने स्पष्ट पारेको छ । प्रवक्ता शर्माले काँग्रेस सकभर सभामुखमा सर्वसम्मत उम्मेदवार हुनुपर्ने पक्षमा रहेको प्रतिकृया दिए ।