काठमाडौं–तराई मधेशमा जारी आन्दोलनकै बीचमा असोज ३ गते सविधान जारी भयो । पहिलो सविधानसभा असफल भएपछि गठन भएको दोस्रो संविधानसभाले दुई वर्ष लगाएर अन्ततः सविधान जारी गरेको छ । सविधान जारी भएपछि पनि यसको विरोध भइरहेका छन् र यसबीचमा यो सविधान सविधानसभाले कति खर्च गरेर सविधान जारी गरेको होला भन्ने सबैको जिज्ञासा हुनु स्वावाभिकै हो ।
विवादकै बीचमा तीन दलको बहुमतबाट निर्माण भएको संविधानका लागि २०७० माघ ८ गतेदेखि २०७२ असोज ३ गतेसम्म अर्थात २० महिनाको अवधिमा एक अर्व ६० करोड ३८ लाख रुपियाँ खर्च गरेको छ । असोज ३ गते सविधान जारी हुँदा सो समारोहका लागि मात्र ८४ लाख ९३ हजार तीन सय १४ रुपियाँ खर्च भएको छ । अन्य खर्च तलव भत्ता, महंगी भत्ता, औषधि उपचार खर्च तथा संविधान जारी गर्न आयोजित राष्ट्रिय समारोहको शीर्षकमा खर्च गरेको पाइएको छ ।
प्राप्त विवरण अनुसार तलव भत्तामा सवैभन्दा बढी रकम खर्च भएको छ । जसमा ७७ करोड ९७ लाख ५९ हजार ८५६ रुपियाँ रहेको छ । यस्तै महंगी भत्तामा एक करोड १३ लाख २३ हजार ३९८ रुपियाँ रकम खर्च भएको छ । अन्य भत्तामा सात करोड ९६ लाख ६९० रुपियाँ खर्च भएको छ । सविधानसभा सदस्यलगायत अन्य कर्मचारीहरुले औषधि उपचार खर्चमा ५७ लाख ५६ हजार २३५ रुपियाँ खर्च गरेको छ भने पानी विजुलीमा एक करोड ४८ लाख ८८ हजार १७९ रुपियाँ खर्च गरेको छ । सञ्चार महसुलमा तीन करोड आठ लाख ६३६ रुपियाँ, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भाडामा २५ करोड १६ लाख ९९ हजार १४७ रुपियाँ, इन्धन खर्च एक करोड ५९ लाख एक हजार ४२५ रुपियाँ खर्च भएको छ । कार्यालय सञ्चालनका लागि ६८ लाख १४ हजार ७६०, रुपियाँ, कार्यालय सम्वन्धी अन्य खर्चमा कार्यालय सम्वन्धी खर्च एक करोड ८३ लाख ९६ हजार ९५ रुपियाँ र कार्यक्रम खर्चमा २० करोड १३ लाख ३९ हजार ९६८ रुपियाँ खर्च भएको छ । सचिवालयले औषधि खरिदमा २२ लाख ५३ हजार ५४१ रुपियाँ, अनुगमन मूल्याङ्कन खर्चमा दुई करोड २२ लाख ८४ हजार २०५ रुपियाँ खर्च गरेको छ । विशिष्ठ व्यक्तिको विदेश भ्रमणका लागि ५१ लाख ७२ हजार ८६ रुपियाँ, विविध शीर्षकमा १५ करोड ७९ लाख दुई हजार ८५२ रुपियाँ खर्च गरेको सचिवालय स्रोतले जनाएको छ ।






