बेइजिङ्गबाट दुई घण्टामा न्यूयोर्क पुग्ने विमानको चीनद्वारा सफल परिक्षण

बेइजिङ- ‘चाइना एकेडेमी अफ साइन्स’का अनुसन्धानकर्ताहरुको एक समूहले एक हापरसोनिक विमानको सफल परिक्षण गरेका छन् । विशेष हवाई सुरुङ्ग(विन्ड टनेल)मा गरिएको परिक्षणमा विमानले ५६०० माइल प्रति घण्टाको गति लिएको थियो । यसबारे खोजपत्र चीनियाँ जर्नल ‘फिजिक्स, मेकानिक्स एण्ड एस्ट्रोनमी’मा प्रकाशित भएको छ ।

सो परियोजनाको नेतृत्व चुई काईले गरेका थिए । उनी ‘चाइना एकेडेमी अफ साइन्स’को उच्च तापक्रम ग्यास डाइनेमिक्सको प्रमुख प्रयोगशालाका एक सदस्य हुन् । यो विमान निर्माणमा चीनका अन्य हापरसोनिक कार्यक्रमहरुको खोजको पनि योगदान रहेको छ । यीमध्ये केहीको सेनासँग सम्बन्धित रहेको मानिन्छ ।

यो सफलता चीनले अन्य हाइपरसोनिक प्रविधिका अन्य क्षेत्रहरुमा सफलता प्राप्त गरेको खबर आएसँगै आएको हो । जसमा चीनको डी.एफ.–१७ एच.जी.भी. लगायत अन्य रकेटजडित अन्तरिक्षयानहरु पनि समावेश रहेका छन् ।

यो परिक्षणको सफलताले अमेरीकी सेनाका उच्चाधिकारी ह्यारी ह्यारीसले अमेरीकी कङ्ग्रेसमा दिएको चेतावनीलाई बल प्रदान गर्छ । उनले चीनले विश्वव्यापी हापरसोनिक हतियार प्रतिस्पर्धामा शीर्षस्थान हासिल गर्न लागेको बताएका थिए ।

विज्ञहरुले हापरसोनिक यानहरुलाई भविष्यका सम्भावित प्रमुख रणनीतिक हतियार मानेका छन् । यसको तीव्र गतिले राष्ट्रको विश्वव्यापी पहुँचलाई बढाउनुका साथै यसले हाल कायम उच्च प्रविधीले हवाई सुरक्षालाई निकम्मा बनाउनेछ । हालको हवाई सुरक्षा प्रविधिमा अमेरीका अन्य देशभन्दा कोसौँ अघि रहको छ ।