महाप्रबन्धकले आफ्नो मान्छेलाई स्थायी गरेको भन्दै कर्मचारी आन्दोलित

काठमाडौं– दुग्ध विकास संस्थानले प्रकाशन गरेको नतिजामा संस्थानभित्रका कर्मचारी नपरेको भन्दै त्यहाँको कर्मचारी आन्दोलित भएका छन् । आन्दोलनका कारण दूध उत्पादन कार्य ठप्प भएको छ ।

संस्थानले डेरी सहायकमा १९ जनाको नाम शनिवार प्रकाशन गरेको छ । त्यसमध्ये पाँचजना मात्र संस्थानभित्रको कर्मचारी परेको र बाँकी बाहिरका त्यसमा पनि संस्थानका महाप्रबन्धक गंगा तिमल्सिनाको आफन्त रहेको कर्मचारीको आरोप छ ।

डेरी सहायकका लागि माग गरेको कर्मचारीका लागि संस्थानभित्रका ४१ जनाले फर्म भरेका थिए तर त्यसमध्ये पाँचजनाको नाम निस्किएको छ ।
१० वर्षदेखि संस्थानमा काम गर्दै आएकी सरस्वती जोशीले संस्थानका महाप्रबन्धकले आफन्त, आसेपासे तथा नेताका मान्छेलाई मात्र उत्तीर्ण गराएको आरोप लगाइन् ।

कर्मचारीको विरोधकै कारण विहानको सिफ्टमा आज दुध उत्पादनका कुनै काम भएन । विहान सिफ्टमा ६५ हजार दुधको प्याकेट उत्पादन हुन्छ, त्यो सबै काम ठप्प भएको छ । दुई वजेदेखि हुने अर्को सिफ्टबाट पनि दुध उत्पादन हुन नदिने उनले बताइन् ।

गतसाल पनि यस्तै विज्ञापन गरिएकोमा स्थायी भएका १९ जना कर्मंचारीमध्ये संस्थानभित्रका एकजना मात्र परेका थिए ।
त्यतिबेला आन्दोलन हुँदा महाप्रवन्धक तिमसिनाले अर्कोपटक विज्ञापन गर्दा संस्थानभित्रका कर्मचारीलाई स्थायी गर्ने आश्वासन दिएका थिए तर यसपटक पनि त्यस्तै गरिएको आन्दोलनकारीको आरोप छ ।
अस्थायी, करार तथा ज्यालादारीमा रहेका कर्मचारीलाई स्थायी नगरेसम्म आन्दोलन नरोकिने उनीहरुले चेतावनी दिएका छन् ।