मन्त्रीले पाउँछन् दिनगन्तीको तलब

काठमाडौं– मन्त्रीहरुले दिन गन्ती गरेर मात्र तलब पाउनेछन्। जति महिना र दिन मन्त्री भएको हो त्यसैलाई आधार मानेर तलब पाउने व्यवस्था छ ।

मन्त्रिपरिषदको ०६८ भदौ २९ को बैठकले प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, स्वकीय सचिवालयका कर्मचारीको पारिश्रमिक तथा अन्य सुविधासम्बन्धी निर्णय गरेको थियो। प्रधानमन्त्रीले प्रमुख स्वकीय सचिव दुई, स्वकीय सचिव दुई, सहस्वकीय सचिव तीन, स्वकीय अधिकृत नौ, फोटोग्राफर अधिकृत एक, कम्प्युटर अधिकृत एक, कम्प्युटर सहायक दुई, प्रशासन सहायक नौ, लेखा सहायक एक, सवारीचालक पाँच र कार्यालय सहयोगी चार जना पाउनेछन्।

प्रधानमन्त्री कार्यालयमा सवारीचालकसहित जम्मा ४५ जना, उपप्रधानमन्त्री कार्यालमा आठ जना, मन्त्री, राज्यमन्त्रीकोमा सात जना र सहायक मन्त्रीकोमा पाँच जना सहयोगी तथा कर्मचारी रहनेछन्।

प्रधानमन्त्री कार्यालयका कर्मचारीका लागि मात्र तीन लाख ८० हजार १४० उपप्रधानमन्त्री कार्यालयलाई १ लाख ७३ हजार २४०, मन्त्री र राज्यमन्त्रीका लागि एकलाख २२ हजार ७९० र सहायक मन्त्रीका लागि ८८ हजार ५७० रुपैयाँ खर्च हुनेछ।