लण्डन । नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समयमा निकै चर्चामा पुगेका युवा नायक अनमोल केसीद्वारा अभिनित चलचित्र ‘कृ’ यहि आउँदो फेब्रुअरी २५ तारिखका दिन अल्डरसटको प्रिन्सेस हलमा प्रदर्शनी गरिने भएको छ । उक्त चलचित्रलाई नेपाली कला र संस्कृतिको विकास र कलाकारहरुको हितको लागि कृयाशील रहँदै आएको सपन इन्टरटेनमेन्ट लिमिटेडले प्रस्तुत गर्न लागेको हो ।
निर्देशक सुरेन्द्र पौडेलद्वारा निर्देशित तथा अनमोल केसी स्टार फिल्म कृले नेपालमा अत्यधिक सफलता प्राप्त गरेको छ । यस चलचित्रलाई निर्माताद्वय सुवास गिरी र भुवन केसीले निर्माण गरेका हुन् । यस चलचित्र निर्माणमा साँढे २ करोड भन्दा बढी लगानी भएको छ । लभर ब्वाईको रुपमा प्रस्तुत हुँदै आएका नायक अन्मोलले निकै लामो मिहिनेतका साथ् आफ्नो लुक परिवर्तन गरि एक्सन हिरोको रुपमा देखा परेका छन् ।
यस चलचित्रमा प्रेम र एक्सनको समिश्रण रहेको छ । चलचित्रमा अनमोल र अदितीका साथमा अनुपविक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, रूपा राना, लक्ष्मी गिरी लगायतले प्रमुख भूमिकामा अभिनय गरेका छन् ।
चलचित्रमा कथा, सम्पादन र निर्देशन सुरेन्द्र पौडेलको छ । चलचित्रमा चन्द्र पन्तको एक्सन, अल्मोडा राना उप्रेती र विशेष श्रेष्ठको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, प्रदिप भारद्धाज र आशिष रेग्मीको पटकथा तथा संवाद, रेनशा वान्तवा राइको कोरियोग्राफी छ । चलचित्रका प्रोडक्शन डिजाइनर शंकर पाण्डे हुन् । सोहि चलचित्रमा रहेको ‘यति यति पानि’ बोलको गीत निकै चर्चाको शिखरमा पुग्न सफल भएको छ






