मोदीको सुट झण्डै ८ करोडमा लिलामी

modi_suit

८ फागुन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चर्चित सुट ४.३१ करोड भारु अर्थात नेपाली ७ करोड ९० लाखमा लिलामी भएको छ ।

गुजरातको सुरतमा तीन दिनसम्म चलेको लिलामीमा हिराका कारोबारी हितेश पटेलले सुनौलो अक्षरले मोदीको नाम लेखिएको सुट किनेका हुन् ।

हितेशको कम्पनीले बाषिर्क ९० करोडको कारोबार गर्छ । इम्पोर्ट ड्युटी नदिएको विषयलाई लिएर उनको कार्यालयमा प्रहरीले यसअघि छापा मारेको थियो ।

अमेरिकी राष्ट्रपति बाराक ओबामासँगको भेटका क्रममा मोदीले लगाएको यो सुट निकै चर्चित छ ।

झण्डै १० लाख भारुमा बनेको यो सुटमा सुनौलो अक्षरमा ‘नरेन्द्र दामोदर मोदी’ लेखिएको छ । जसका कारण मोदी विवादमा समेत परेका थिए ।