युक्रेनको प्रस्ताव रुसद्वारा निन्दा

पूर्वी युक्रेनमा संयुक्त राष्ट्र संघको शान्ति सेना तैनाथ गर्न युक्रेनले राखेको प्रस्तावको रुसले निन्दा गरेको छ । रुसले यस कदमलाई विनाशकारीको संज्ञा दिएको छ । एक साता अघि मिन्स्कमा भएको वार्तामा युद्धविराम सम्झौता भए पनि डेबाल्टसेफ र दोनेत्सक सहरमा गोलाबारी जारी रहे पछि युक्रेनले शान्ति सेना परिचालनको प्रस्ताव राखेको थियो । तर, रुसका संयुक्त राष्ट्र संघ राजदूत वाइटली चर्किनले युक्रेनी राष्ट्रपति पेत्रो पोरोशेन्को यो प्रस्ताव युद्ध विराम सम्झौतालाई रद्ध गर्ने नियत सहित आएको दाबी गर्नुभएको छ । सम्झौता कार्यान्वयन गर्नु साटो दोस्रो योजनाको खोजी हुनु दुःखद रहेको चर्किनको भनाइ छ । अन्तराष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार विहीबार फ्रान्स, युक्रेन र जर्मनीका अधिकारीहरुबीच टेलिफोन वार्ता भएको थियो । पूर्वी युक्रेनका दोनेत्स्क र लुहान्सक सहर विद्रोहीहरुले कब्जामा लिएर अलग राज्य घोषणा गरेका गरेका छन् । पूर्व युक्रेनले विद्रोहीहरुलाई रुसले समर्थन गरिरहेको आरोप लगाउँदै आएको छ ।