भारतीय समूहले बेच्यो पोखराको मणिपाल अस्पताल, बतास र अटोवेजले ३५० करोडमा किने

पोखरा । भारतीय लगानीकर्ताले पोखराको मणिपाल शिक्षण अस्पताल बिक्री गरेको छ ।

२०५१ सालमा अस्पताल र शिक्षण अस्पताल सञ्चालन गरेको मणिपाल समूहले विक्री गरेको असपताल पोखराका व्यवसायी आनन्दराज बतासको बतास अर्गनाइजेसन र नारायण पौडेलको अटोवेज प्रालिले खरीद गरेका छन् ।

उनीहरुले कलेजमा ६० प्रतिशत बतास र ४० प्रतिशत अटोवेज समूहले ३ अर्ब ५० लाख रुपैयाँमा मणिपाल कलेज किनेका हुन ।

मणिपाल नेपालमै पहिलो पटक निजी क्षेत्रबाट सञ्चालनमा आएको शिक्षण अस्पताल हो । भारतीय लगानीमा पोखराको एक पाखोमा खुलेको मणिपालसँगै त्यो क्षेत्रमा विकासको ढोका पनि खुलेको थियो । ४० रोपनी क्षेत्रफलमा फैलिएको मणिपालले ९ सय शय्याको अस्पतालको अनुमति लिएको छ ।

मेडिकल कलेजमा अहिले १ सय विद्यार्थीले एमबीबीएस अध्ययन गरिरकेका छन् । मणिपालमै बीएस्सी नर्सिङ, स्टाफ नर्ससमेत पढाइ हुँदै आएको छ । मणिपालमा भारतदेखि धेरै विद्यार्थी एमबीबीएस अध्ययन गर्न आउने गरेका छन् ।

भारतका विभिन्न ठाउँमा मणिपाल अस्पताल चलाइरहेको समूहले पोखरामा मेडिकल चलाएर विकाससँगै ठूलो रोजगारी पनि सिर्जना गरेको थियो । मणिपालमा ११ सय भन्दा बढीले रोजगारी पाएका छन् ।

मेडिकल कलेजको कुनै पनि ऋण नभए पनि कर लगायत अन्य विभिन्न दायित्व गरी ९७ करोडभन्दा तिर्न बाँकी रहेकाले उक्त दायित्वसमेत सकारेर खरीद गर्ने सहमति भएको हो । खरीद सम्झौता पूरा भई स्वामित्व लिइसकेपछि अस्पताल सञ्चालक समितिमा चारजना रहने सहमति भएको छ । कलेज सञ्चालक समितिमा बतास समूहका अध्यक्ष आनन्दराज बतास अध्यक्ष र अटोवेज ग्रूपका प्रबन्ध निर्देशक नारायण पौडेल उपाध्यक्ष रहनेछन् । यस्तै, बतास समूहका प्रबन्ध निर्देशक शान्तराज बतास र निर्देशक विपेन्द्रराज बतास बोर्ड सदस्यका रूपमा रहने आन्तरिक सहमति भएको छ ।

मेडिकल कलेजसहित हस्पिटलको सम्पूर्ण सम्पत्तिको स्वामित्व खरीद भएको छ । आफ्नै स्वामित्वको ४० रोपनी जग्गा र लिजमा लिइएको १६० रोपनीसहित २०० रोपनी जग्गामा हस्पिटल तथा मेडिकल कलेज सञ्चालन भइरहेको छ ।

यस्तो भएको थियो सरकारसँग सम्झौता

नेपाल सरकार र मणिपाल एजुकेशन बिचमा नेपाल सरकारले पटक पटक गरि दुईपटक सम्झौता भएको बुझिएको छ । तत्कालिन शिक्षा मन्त्री गोविन्दराज जोशिका अनुसार २०५० तिर मणिपालसँग सम्झौता भएको हो । त्यो सम्झौतामा सरकार पक्ष आफु माथी हुनेगरि सम्झौता भएको थियो । त्यसको दुईबर्ष पछि मोदनाथ प्रश्रीत शिक्षा मन्त्रीहुँदा मणिपाल अलि बलियो हुनेगरि सम्झौता गरिएको कारण तत्कालिन मन्त्री मोदनाथको चर्को आलोचना भएको थियो ।

पछिल्लो समय मणिपाललाई आनन्द राज बतास र नारायण पौडेलले किनेको भन्ने सम्झौता सरकारी कुनै पनि कार्यालयमा दर्ता नभएको शिक्षा मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

सम्झौतामा भनिएअनुसार मणिपाल अस्पताल सञ्चालकले आफ्नो समयावधी समाप्त भएपछि सिधै सरकारलाई नै हस्तान्तरण गर्नुपर्ने भनिएको छ ।

‘सम्झौता अनुसार उक्त ४९ वर्षको अवधि समाप्त भएपछि वा बिचैमा दाश्रो पक्षले उक्त जग्गा छाडी जाने भएमा भु–बहाल रकम प्रथम पक्षले फिर्ता नदिने र उक्त जग्गामा उपलब्ध भौतिक सुविधाहरु अरुलाई हस्तान्तरण गर्न नपाउने गरि यथास्थितिमै प्रथम पक्षलाई नै छोडी जानु पर्नेछ । सो वापत प्रथम पक्षले दोश्रो पक्षलाई कुनैपनि रकम दिनुपर्ने छैन ।’ सम्झौतामा लेखिएको छ ।

सम्झौता विपरित खरिद विक्रि भएको भन्दै पोखरेलीले चर्को विरोध गरेका छन् ।

हेर्नुहोस् सम्झौता पत्र