“बल केपी ओलीको कोर्टमा छ, कस्तो गोल हान्नुहुन्छ हेर्न बाँकी छ”
काठमाडौं- संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनका लागि वाम गठबन्धन तयार भए आफूहरु सरकारमा सहभागी हुन तयार रहेको स्पष्ट पारेका छन् ।
आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष यादवले संविधान संशोधनका मुद्दाका बारेमा गठबन्धनले स्पष्ट धारणा दिनुपर्ने र उक्त धारणासँग आफूहरु सहमत भएको खण्डमा सरकारलाई सहयोग गर्न तयार रहेको बताएका हुन् ।
यादवले माओवादी र कांग्रेस विगतमा नै संविधान संशोधनका लागि तयार भएको स्मरण गराउँदै अब एमालेले आफ्नो धारणा स्पष्ट पार्नुपर्ने बताए । “बल एमालेको कोर्टमा छ, एमालेभित्रपनि अध्यक्ष केपी ओलीजीको कोर्टमा बल छ, कस्तो गोल हान्नुहुन्छ त्यो भने हेर्न बाँकी छ । हामी सरकारसँग सहकार्य गर्न तयार छौँ”– यादवले भने ।
उनले अघि भने,“एमालेको स्पष्ट धारणा के हो ? त्यो धारणासँग हाम्रो धारणा मेल खान्छ कि खाँदैन ? हिजोका दिनमा एमालेले संविधान संशोधनको विरोध गर्यो भन्दैमा अहिले पनि गर्छ भन्ने छैन ।”






