लण्डनमा हितानको एकल कविता वाचन

विश्व नेपाली साहित्य महासङ्घको आयोजनामा बेलायतको आसफोर्ड टाउनमा कवि विजय हितानको एकल कविता वाचन सम्पन्न भयो । सो अवसरमा हितानले वातावरणीय र युद्ध साहित्यका डेढ दर्जन कविता वाचन गर्नुभएको थियो । कार्यक्रममा महासङ्घका संरक्षक सदस्य सुरेन्द्र इङ्नाम बाँसुरी धुन प्रस्तुत गर्नाका साथै क्रिस्टिना घम, दधिबन्धु घर्ती मगरलगायत करिब छ जनाले आआफ्नो सिर्जना पस्कनुभएको थियो ।
सो अवसरमा सगरमाथा नेपलिज कम्युनिटी आसफोर्डका अध्यक्ष सिरी लिम्बूले यस्ता रचनात्मक कार्यले नै नयाँ विचार दिने बताउनुभयो । साहित्य महासङ्घ बेलायतले यसअघि केदार सुनुवार सङ्केत र विक्रम सुब्बाको यसअघि नै एकल सिर्जना वाचन कार्यक्रम गरेको बताउँदै वाचित कविता चाँडै अनलाइनमा उपलब्ध गराइने साहित्य महासङ्घ केन्द्रीय समितिका अध्यक्ष विश्वासदीप तिगेलाले जानकारी दिनुभयो ।