चट्याङ लागेर तीनको मृत्यु, पाँच घाइते

गएराति परेको चट्याङ लागेर सोलुखुम्बुमा तीन जनाको मृत्यु भएको छ । चट्याङ लागेर वाकु– १ का ४१ वर्षीय दण्डीप्रसाद घिमिरे, वाकु– १ कै ११ वर्षीया अनिशा राई र ३२ वर्षीय रमेश विकको मृत्युभएको प्रहरी नायब उपरीक्षक चन्द्रदेव राईले जानकारी दिनुभयो । त्यस्तै चट्याङ लागेर पूर्णबहादुर घिमिरे घाइते भएको प्रहरीले जनाएको छ । गाविसमा वितरीत ११ किलोवाट क्षमताको पावरहाउस नजिकै चट्याङ परेको थियो ।
यता मध्य धादिङको ढोला –३ टक्सारी गाउँमा बुधबार बेलुका चट्याङ पर्दा पाँच घाइते भएका छन् ।
एउटा विवाह घरमा पहुना लाग्न गएको बेला मानिसहरु गफ गरेर बसेको स्थानमा चट्याङ परेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते हुनेमा नीलकण्ठ –१२ का २५ वर्षीय रामहरि लम्साल, गजुरी –१ की ४८ वर्षीया शारदा खतिवडा, ढोला –३ की ५० वर्षीया टङ्ककुमारी तिमिल्सिना र सरस्वती घिमिरे तथा मैदी गाविसकी ५७ वर्षीया सीता अधिकारी छन् ।
घाइतेको राति नै उद्धार गरी जिल्ला अस्पताल धादिङमा उपचारका लागि भर्ना गरिएको छ । चट्याङ लागेर लम्साल र तिमिल्सिनाको शरीर जलेको छ भने सरस्वतीलाई धारिलो हतियारले काटेको जस्तो घाउ लागेको छ । अन्य सबैको अवस्था सामान्य छ ।