अमेरिकामा सरकारी कामकाज ठप्प, लाखौं संघीय कर्मचारी बेतलवी बिदामा

काठमाडौं। अमेरिकी सिनेटबाट नयाँ बजेट पारित हुन नसकेपछि ठप्प भएको सरकारी कामकाजबाट लाखौं संघीय कर्मचारी आजबाट काममा जानबाट बन्चित हुने भएका छन् ।

सिनेटमा नयाँ बजेट सम्बन्धमा सहमति नजुटेपछि स्थानीय समयअनुसार शुक्रबार मध्यरातबाट सरकारी कामकाज ठप्प हुन शुरु भएको थियो ।

कार्यालय खुल्ने समय अघि आइतबार अबेरसम्म अवरोध खुलाउने प्रयास भए पनि सफल हुन सकेन ।

अमेरिकी संघीय निकायका कर्मचारी बेतलवी बिदामा बस्न बाध्य हुनेछन् । सत्तारुढ र डेमोक्रेट सिनेटरहरुले एक अर्कोमाथि दोष लगाएका छन् ।

संघीय निकायहरुलाई रकम उपलब्ध गराउनेसम्बन्धी विधेयक सीनेटले अस्वीकृत गरेपछि कामकाज नै ठप्प भएको हो ।

ह्वाइट हाउस र कंग्रेसमा एउटै पार्टी रिपब्लिकनको नियन्त्रण रहँदा पनि सरकारी कामकाज ठप्प भएको यो पहिलो घटना हो । यस अघि सन् २०१३ मा यस्तो स्थिति १६ दिनसम्म रहेको थियो ।

विधेयक पारित गर्न आवश्यक ६० मत जुटाउन नसक्दा दुबै सदनमा रहेको बहुमत पनि सरकारका लागि काम लागेन ।

अर्को महिनासम्म संघीय निकायहरुलाई खर्च उपलब्ध गराउने विधेयक पारित गराउन रिपब्लिकनलाई डेमोक्र्याटहरुको पनि समर्थन आवश्यक थियो ।

तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटीभबाट १९७ का विरुद्ध २३० मतले पारित विधेयक सीनेटमा भने एक मतले विफल भएको हो ।

विपक्षमा ५० मत आउँदा पक्षमा ४९ मत मात्र परेको थियो । पाँच डेमोक्र्याट सांसदले समर्थन गर्दा स्वयं ट्रम्पकै पार्टी रिपब्लिकनका पाँचै जना सांसद विपक्षमा उभिए ।(एजेन्सी)