एमालेले आज कार्यविभाजन गर्ने

नेताहरुको कार्यविभाजनबारे छलफल गर्न नेकपा एमाले स्थायी कमिटीको बैठक आज बस्दैछ । पार्टी कार्यालय बल्खुमा बस्ने बैठकमा केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाँडफाँट र मनोनित सदस्यबारे छलफल हुने एमालेले जनाएको छ । १५ जना मनोनित सदस्यका लागि धेरै आकांक्षी भएपछि विवाद हुँदै आएको छ । गुटगत आधारमा जिम्मेवारी बाँडफाँट र मनोनित गर्न खोजेपछि विवाद भएको हो । यसअघिका बैठकले विवाद टुंगो लगाउन नसकेपछि कार्यदललाई जिम्मा दिइएको छ । कार्यदलमा अध्यक्ष केपी ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, विद्यादेवी भण्डारी र महासचिव ईश्वर पोखरेल छन् । हिजो बसेको कार्यदलको बैठकले भागवण्डाका आधारमा भन्दा पनि सहमति र समावेशीका आधारमा कार्यविभाजन गर्न न्यूनतम् मापदण्ड बनाएको एमाले उपाध्यक्ष भण्डारीले जानकारी दिनुभयो । गत असार तेस्रो साता भएको महाधिवेशनपछि एमाले नेताहरुको कार्यविभाजन नहुँदा स्थायी समिति, पोलिटव्युरो र केन्द्रीय समितिमा रहेका नेताहरु जिम्मेवारी विहीन छन् ।