राष्ट्रियसभा चुनाव: कुन प्रदेशमा कति मतदादता ?

राष्ट्रियसभा सदस्य चुन्न सबभन्दा बढी मतदाता प्रदेश नम्बर २ छन् । भने सबभन्दा कम मतदाता प्रदेश नम्बर ६ मा । उक्त दुईवटा प्रदेशको मतदाता संख्या दोब्बर बढीले फरक छ । तर, दुवै प्रदेशबाट राष्ट्रियसभा सदस्य भने समान संख्यामा चुनिने छन् ।

मधेसी दलले प्रदेशको जनसंख्याको अनुपातमा राष्ट्रियसभा सदस्य चुनिनुपर्ने माग राख्दै आए पनि उक्त माग अनुसारको संविधान संशोधन हुन नसकेपछि सबै प्रदेशबाट समान संख्यामा सदस्य निर्वाचित हुने भएका छन् ।

राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट कम्तीमा तीन जना महिला, एकजना दलित र एकजना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक तथा अन्य तीनजना सहित ८ जना चुनिने संवैधानिक प्रावधान छ ।

त्यसबाहेक सरकारको सिफारिसमा राष्ट्रपतिबाट एकजना महिलासहित तीन जना राष्ट्रियसभामा मनोनित हुनेछन् । राष्ट्रियसभा सदस्यको निर्वाचक मण्डलमा प्रदेशसभाका सदस्यहरु तथा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख छन् ।