ललितपुर- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दलहरुको सहमतिमा नै संविधान लेखिएकाले संविधानमा लेखिएको चुनावी प्रणाली मान्दिन भन्न नमिल्ने बताउनुभएको छ ।
सन्त नेता कृष्णप्रसाद भट्टराईको ९४औँ जन्मोत्सवका अवसरमा आयोजित कार्यक्रममा उहाँले नेपाली काँग्रेसतर्फ लक्षित गर्दै खेल सकिएर एउटाले जितेर विजयको हात हल्लाएपछि अर्काेले खेलको नियम मान्दिन भन्न नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामी आफैँले बनाएको प्रणालीलाई सर्वस्वीकार्य बनाउनुपर्छ ।”
आफू शासक नभएको र आफूमा कुनै पनि खालको दम्भ नभएको अध्यक्ष ओलीले दाबी गर्नुभयो । एउटा सामान्य किसान परिवारमा जन्मे हुर्केको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “म कुलघरानाको होइन, घाँस काटेर, भकारो सोहोरेर हुर्किएको हो, ममा कुनै दम्भ छैन ।”
अध्यक्ष ओलीले कृष्णप्रसाद भट्टराईले एउटा युग र परिवर्तनको नेतृत्व गरेको स्मरण गर्नुभयो । राणाकालको कष्टकर समयमा समेत परिवर्तनका लागि लागेको भन्दै उहाँले भट्टराईको प्रशंसा गर्नुभयो ।






