जाजरकोट : तीन सातादेखि जाजरकोटका गाउँगाउँमा फैलिएको रोग सरकारले अहिलेसम्म पत्ता लगाउन सकेको छैन। रोग निदान नहुँदा जुनसुकै समस्यामा पनि स्वाइन फ्लु भन्दै गाउँले आत्तिएर स्वास्थ्यजाँचका लागि शिविर जाने गरेका छन्।
काठमाडौंका विभिन्न अस्पतालबाट सरकारले खटाएका र आफूखुसी उपचारका लागि प्रभावित क्षेत्रमा पुग्ने चिकित्सकसँग गाउँलेको एउटै माग हुन्छ, ‘मलाई पनि स्वाइन फ्लु भएको छ रे औषधि दिनुस् न।’
शिविरमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीले ती बिरामीलाई के भएको हो भनेर पत्ता लगाउन सकेका छैन। चिकित्सकरूले रोग थामथुम पार्न सिटामोल र एन्टिबायोटिक बाँडिरहेका छन्।
रोग निदान गर्नुपर्ने निकाय स्वास्थ्य मन्त्रालय र त्यस मातहतको महामारी तथा रोग निवारण महाशाखा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् भने चुपचाप छन्।
ज्वरो आउने, टाउको दुख्ने, पेट दुख्ने, हड्डी खानेजस्ता लक्षण देखिने बिरामीको संख्या विकट गाउँमा फैलिए पनि त्यसबारे ती निकायले कुनै तदारुकता देखाएका छैनन्।
सरकारले पहिलोपटक नमुना संकलन गरेका ११ मध्ये तीन जनालाई स्वाइन फ्लु पुष्टि भएको थियो। दोस्रो पटक नमुना परीक्षण गरिएका १८ जनामध्ये नौजनामा स्वाइन फ्लु पुष्टि भएको थियो। त्यसपछि नमुना संकलनका लागि कोही पनि खटिएको छैन।
जिल्लाको अर्खानी, टालेगाउँ, लिम्सा, मजकोट, नायकवडालगायत गाविसमा स्वाइन फ्लु फैलिएको भन्दै गाउँलेले गाउँ नै छाड्ने तयारी गरेका छन्। खलंगाबाट अर्खानी पुग्दा ओरालो लाग्दै गरेका स्थानीय मनबहादुर दलाउनेले भने, ‘के भएको हो हामीलाई नै थाहा छैन, गाउँमा डरलाग्दो ठहरै पार्ने रोग फैलिएको छ रे, बाँच्न त प:यो, त्यही भएर हाम्रो परिवार लिएर म खलंगा जाँदैछु।’
चिकित्सकले अहिलेसम्म जाजरकोटमा चार हजार बिरामीको जाँच गरेका छन्। तीमध्ये १० प्रतिशत बिरामीमा मात्र स्वाइन फ्लुका लक्षण देखिएका छन्। तर, सबै गाउँका सर्वसाधारण स्वाइन फ्लुको डरले आतंकित छन्।
अर्खानी पुगेका नेपाली सेनाका चिकित्सकले गाउँमा आतंक मच्चिएको बताए। ‘विभिन्न खालका बिरामी भेटिएका छन्, सबैमा सबैखाले रोग छ, यसको समयमै उपचार भएन भने भयावह अवस्था आउन सक्छ’, उनले भने।
कार्यवाहक प्रधानमन्त्री वामदेव गौतमले अहिलेसम्म जाजरकोटमा स्वाइन फ्लुबाट तीनजनाको मात्र मृत्यु भएको दाबी गरेका छन्।
रोग प्रभावित क्षेत्रमा मृत्यु भएकालाई राहत दिन विकटताको बहानामा कुनै सरकारी अधिकारी पुगेका छैनन्। टालेगाउँकी २६ वर्षीय एक युवतीको के कारणले मृत्यु भएको भन्नेबारे सरकारले कुनै अनुसन्धान नै गर्न चाहेन।
उनीसँगै प्रवेशिका परीक्षा दिएकी मृतककी साथी सविना सिंहले उनी दुई वर्षदेखि नै बिरामी परेको बताइन्। ‘कालगतिले मरेकी हुन् रे, तैपनि उनको मृत्यु कसरी भएको हो भनेर सरकारले अनुसन्धान गर्नु पर्दैन त?’ अर्छानीका स्थानीय खिमबहादुर सिंहले उनको मृत्युबारे बुझ्न सरकारी अधिकारी नगएकोमा आश्चर्य व्यक्त गरे।
दुर्गमको एउटा घरमा कुनै व्यक्तिको मृत्यु भए गाउँलेले खबर गर्छन्, त्यही खबर जिल्लामा पुग्छ। जिल्लाका स्वास्थ्यकर्मीले मृत्यु हुनुको कारण पहिचान नगरी उनको नाम अभिलेखमा उल्लेख गर्छन्। स्वाइनफ्लुबाट कति बिरामी भएका छन् भन्ने यकिन तथ्यांक आउन सकेको छैन। परीक्षण नै नगरी बिरामीलाई औषधि बाँड्ने गरिएको छ।
केन्द्रबाट खटिनेहरू हेलिकप्टरबाट खलंगासम्म पुगे पनि सबै प्रभावित क्षेत्रमा पुग्दैनन्। अर्छानीकी महिला स्वास्थ्य स्वयम्सेविका जलुका शाहीले सेनाको सहयोग नपाएको भए अवस्था भयावह हुने बताइन्। ‘केन्द्रबाट खटिएका डाक्टर कोही आएनन्’, उनले भनिन्।
सेना चिकित्सक अनिलकुमार सिंह डंगोलले सरकारले उपयुक्त संयन्त्र परिचालन गर्न नसक्दा र समयमा रोग पहिचान गर्न नसक्दा ठूलो समस्या निम्तिने देखिएको बताए।
‘महामारी भयो भनेर व्यापक हल्ला भएको छ, मृत्यु हुनुमा त्यसैको कारण देखाइएको छ, तर कुनै अनुसन्धान भएको छैन’, डा. डंगोलले भने।
विभिन्न संघसंस्थाबाट गएका चिकित्सक बिरामी परीक्षण गर्न कठिन भएको भन्दै काठमाडौं फर्कन थालेका छन्।
स्वास्थ्य सेवा विभागबाट खटिएका चिकित्सकलाई बुधबार बिहान सेनाका चिकित्सकले काम ढिलासुस्ती भएको जानकारी गराए। भौगोलिक विकटता र अत्यधिक हावाहुरीले गर्दा हेलिकप्टर मंगलबार उड्न नसकेपछि टालेगाउँमा थला परेकी पाँचमहिने शिशुलाई बुधबारमात्र सदरमुकाम ल्याइयो।
लिम्सा गाविसमा खटिएकी एक चिकित्सकले सरकारी उदासीनता रहेको र प्राविधिक नखटाएकाले वास्तविक अवस्थाभन्दा बढी त्रास फैलिएको बताइन्। ‘आएका बिरामीलाई सामान्य सोधपुछ गरेर औषधिमात्र दिन्छौ, ल्याब टेस्ट गर्न सरकारले तदारुकता देखाएन,’ उनले भनिन्।
महामारी क्षेत्रमा जिल्लाका सरोकारवाला अधिकारीहरूको नाकमुख देख्न पाइँदैन। खलंगास्थित सैनिक ब्यारेकमा हरेक दिन बिहान महामारी नियन्त्रणबारे हुने छलफलमा जिल्ला जनस्वास्थ्य प्रमुख, प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारीहरू उपस्थित नहुने सेनाका एक अधिकारीले बताए। ‘हामीले छलफलमा बोलाउँदा उहाँहरूको फोन अफ हुन्छ,’ ती अधिकारीले भने।
स्वाइन फ्लुबाट तीनजनाको मात्रै मृत्यु : गृहमन्त्री
काठमाडौं : कार्यवाहक प्रधानमन्त्री वामदेव गौतमले अहिलेसम्म जाजरकोटमा स्वाइन फ्लुबाट तीनजनाको मात्र मृत्यु भएको दाबी गरेका छन्।
व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिको बुधबार भएको बैठकमा जाजरकोट महामारीको प्रसंग कोट्याउँदै स्वाइन फ्लुका कारण तीनजनाको मात्रै मृत्यु भएको र अन्य कारणले मृत्यु भएकालाई पनि स्वाइन फ्लुकै हल्ला चलाइएको दाबी गरे। ‘स्थिति नियन्त्रणमा आउन थालिसकेको छ’, गौतमले भने।






