बामदेव भन्छन्- प्रधानमन्त्रीमा म योग्य

बर्दिया- नेकपा एमालेका उपाध्यक्ष तथा बर्दिया क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार वामदेव गौतमले अबको प्रधानमन्त्री आफू नै बन्ने दाबी गरेका छन् ।

गौतमले रिपोर्टर्स क्लब नेपालले गरेको विशेष चुनावी साक्षात्कारमा आफू जत्तिको नैतिक रुपमा बलियो उम्मेदवार एमाले र माओवादीभित्र कोही नभएको जिकिर गरेका छन् । ‘वामपन्थी उम्मेदवाहरुले जित्ने पक्का भइसक्यो’, उनले भने, ‘वाम गठबन्धनप्रति जनताको लहर आएको छ । त्यसैले चुनाव जित्छौँ ।’

तपाईको अवस्था के छ ? भनेर सोधिएको प्रश्नमा उनले भने,‘मैले चुनाव जित्नेमा कुनै शंका छैन, जितिसकेको छु ।’ एमालेका कार्यकर्ताले मलाई भोट हाल्छन् भनेर सञ्जय गौतमले प्रचार गरेका छन् नि भनेर सोधिएको प्रश्नमा उनले आक्रोशित बनेका नेता गौतमले कडा जवाफ फर्काए ।

‘एमालेका कार्यकर्ता कांग्रेसका उखर्मौला कार्यकर्ता जस्ता हुन् र ? सञ्जय गौतमले पैसा दिएको भरमा हाम्रा व्यानर च्यात्ने काम कांग्रेसका कार्यकर्ताले गरेका छन् । एमालेका कार्यकर्ता यस्ता छैनन्’, उनले भने ।

केन्द्रमा माओवादीसँग गठबन्धन भए पनि तल्लो तहमा माओवादीका कार्यकर्ताले एमालेलाई मतदान गर्दैनन भन्नु गलत प्रचारमात्रै भएको टिप्पणी गरे । ‘शतप्रतिशत गर्छन् । यस्तो पनि कसैले कुरा गर्छ ? यो त कांग्रेसको दिमागमा आएको सपनाको पुलाउ हो’, वामदेवले भने, ‘हामीले त जितिसक्यौँ । कांग्रेसले त कति ठाउँमा हाछौँ भनेर गनिरहेका छन् ।

‘मैले २० वटा पार्टी एकता गराइसकेको छु । आज पनि मेरै कारणले एमाले र माओवादी एकता हुन लागेको हो’, उनले भने, ‘एकता कसरी गर्नुपर्छ मलाई थाहा छ ।’ उनले नेपाल अब साम्यवादको बाटोमा गएको समेत स्पष्ट पारे ।