प्रेम साटासाट गरी नेपाल सहित विश्वभर आज भ्यालेन्टाइन डे मनाइँदैछ । भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस पश्चिमा सँस्कृति भए पनि नेपालका युवा युवतीबीच लोकप्रीय छ । रोमन साम्राज्यको पालामा भ्यालेन्टाइन नामका एक पादरीले सैन्य शासकको निर्देशन अवज्ञा गर्दै युवायुवतीहरुलाई प्रेमका लागि उत्प्रेरित गर्दै सामूहिक विवाह गराइदिएका थिए । तर युवा युवती प्रेममा लागे सैनिक शासन प्रभावित हुन्छ भनेर भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएपछि उनको सम्झनामा हरेक वर्ष फेब्रुअरी १४ मा यो दिवस मनाउने गरिन्छ । प्रणय दिवसको अवसरमा आज प्रेमजोडीहरुले विभिन्न उपहार आदान प्रदान गरी माया साटासाट गर्ने चलन छ । त्यस्तै आफूलाई मन परेको व्यक्तिसामु प्रेम प्रस्ताव राख्ने दिनको रुपमा पनि भ्यालेन्टाइन डेलाई युवायुवतीले उपयोग गर्दछन् । भ्यालेन्टाइन डे को अवसरमा आज काठमाडौं लगायत विभिन्न सहरमा विभिन्न कार्यक्रमसमेत आयोजना गरिएको छ । सार्वजनिक पार्क तथा उद्यानहरु आज प्रेमजोडीले भरिभराउ हुन्छन् । यो दिन लाखौँका गुलाबका फूल तथा उपहारको व्यापार हुने गरेको छ । प्रणय दिवसलाई लक्षित गरी भारतबाट ४० लाख रुपैयाँ बराबरको रातो गुलाबको फूल नेपाल आयात गरिएको छ ।
प्रेम दिवसको अवसर पारेर आज भक्तपुरको गुण्डु घ्याम्पे डाँडामा नेपाली मौलिक खानाको परिकारको मेला लाग्दैछ । मेलामा गुन्द्रुक, फापरको ढिँडो, लोकल भालेको मासु मुख्य आकर्षण रुपमा रहने आयोजकले जनाएको छ । स्थानीय उत्पादनलाई जोड दिदै ढिँडोसंगै सिस्नुका स्टल पनि राखिने भएकोे छ । एकदिने महोत्सव आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म चल्ने आयोजक स्थानीय सूर्योदय युवा क्लब गुन्डुले जनाएको छ । स्थानीय संस्कार, तामाङ समुदायको भेषभुषा समेत महोत्सवमा प्रदर्शन गरिने क्लबका अध्यक्ष दिलकुमार तामाङले जानकारी दिनुभयो ।
आज प्रेम दिवस मनाइदै






