फुटसलमाथिको प्रतिबन्ध एकदिन पनि टिकेन

futsalकाठमाडौँ- बिहीबारदेखि उपत्यकाका फुटसल खेलमा लगाइएको प्रतिबन्ध १५ बुँदे सहमतिपछि आजैदेखि फुकुवा भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा व्यवसायीसहितको छलफलपछि प्रतिबन्ध फुकवा गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले राससलाई जानकारी दिनुभयो ।

सञ्चालकहरूले १५ दिनभित्र मनोरञ्जन भए घरेलु तथा खेलकुद भए स्थानीय प्रशासनमा विधिवतरुपमा दर्ता गरी नियमानुसार सञ्चालन गर्ने, खेलकुद सञ्चालन गर्दा छिमेकीलाई होहल्ला नगर्ने, विद्यालय÷कलेज ड्रेसमा विद्यार्थी आए अभिभावकको अनुमतिबिना त्यहाँ प्रवेश नदिने, एक महिनाभित्रै सिसी टिभीको व्यवस्था गर्ने, प्राथमिक उपचारको व्यवस्था गर्ने, आचारसंहिता स्पष्टरुपमा सबैले देख्ने गरी राख्ने, खेलको शुल्कसमेत टाँस गर्नुपर्ने, राति ७ बजेभन्दा पछि खेल सञ्चालन गर्न नपाइने, तेस्रो पक्ष बिमा गर्ने, ध्वनि प्रदूषण यन्त्र जडान गर्नेलगायत विषयमा व्यवसायी र प्रशासनबीच सहमतिपछि फुटसल सञ्चालन हुने भएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सहमति लागु भए/नभएको अनुगमन हुन्छ, हामीले सहायक प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईको संयोजकत्वमा अनुगमन समिति बनाएका छौँ, समितिले अनुगमन गर्छ र मापदण्डअनुसार सञ्चालन भएनभएको यकिन गर्छ । मापदण्डअनुसार सञ्चालनमा नआए पुनः बन्द गछौँ ।”

अनुगमन समितिमा फुटसल व्यवसायी, काठमाडौँ प्रहरी, घरेलु तथा साना उद्योग र जिल्ला शिक्षा कार्यालयका प्रतिनिधि रहने सहमति भएको छ ।

सो अवसरमा व्यवसायीले फुटसलका नाममा हुने आपराधिक क्रियाकलाप रोक्न प्रतिबद्धतासमेत जनाएका थिए । छलफलमा फुटसल व्यवसायी राज महर्जनले उपत्यकामा फुटबल मैदानको अभावमा फुटसल खेल लोकप्रिय बन्दै गएको बताउँदै फुटवल विकास नभएको अवस्थामा फुटसल खोलेर निजी संस्थाले खेलकुदको क्षेत्रमा सहयोग गरेको बताउनुभयो ।