काठमाडौँ- नेपाली कांग्रेसका शीर्ष नेताले पार्टीको विभिन्न संरचना निर्माण गर्नुभन्दा पहिले आन्तरिक रुपमा विस्तृत छलफल गरी विकल्पसहित प्रस्ताव ल्याउन पार्टीको विधान मस्यौदा समितिलाई आग्रह गरेका छन् ।
सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा बसेको पार्टी पदाधिकारी र विधान मस्यौदा समितिको आज बसेको संयुक्त बैठकले पार्टीको तल्लो तहसम्म छलफल गरेरमात्रै विधान संशोधन आवश्यक निर्णय लिनु उपयुक्त हुने निष्कर्ष निकालेको हो ।
गाउँ, नगर, क्षेत्र, जिल्ला तहमा भने हालको संरचना नै कायम गरेर जाने सहमति भने यसअघि नै भएको छ । तर प्रदेश र केन्द्रमा भने कस्तो संरचना बनाउने भन्नेमा भने थप छलफलको आवश्यकता देखिएको सङ्गठन विभाग प्रमुख आनन्दप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो ।
उहाँले बैठकमा केही नेताले सबै तहमा निर्वाचित हुने व्यवस्था गर्दा जायज हुने धारणा राख्नुभएको भए पनि अन्तिम निष्कर्ष नआएको र सघन छलफल गर्नुपर्नेमा मतैक्य देखिएको बताउनुभयो ।
तर केन्द्रीय सदस्य बालकृष्ण खाँडले भने पार्टीको गाउँ तथा नगर, क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय समितिको निर्वाचन गर्नुपर्नेमा जोड दिइएको बताउनुभयो ।






