औपचारिक भ्रमणका लागी राष्ट्रपति भण्डारी आज युएईको अवुधावी जादै

राष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक भ्रमणका लागी आज खाडी मुलुक युनाईटेड अवर इमिरेट् जादै हुनुहुन्छ । नेपाल तथा संयुक्त अरब इमिरेट्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४० वर्ष पुगेको उपलक्ष्यमा उहा त्यस तर्फ जान लाग्नु भएको हो ।

आपसी सद्भावना र सहयोगमा आधारित सुमधुर तथा मैत्रीपूर्ण सम्बन्ध रहेका यी दुई मुलुकबीचको द्विपक्षीय सम्बन्धलाई अझै प्रगाढ बनाउन राष्ट्रपति जान लाग्नु भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । त्यहाका युवराजको निमन्त्रणामा जाने राष्ट्रपतिको भ्रमणले द्विपक्षीय थप सहयोग पुग्ने परराष्ट्र मामिलामा कार्यरत व्यक्तित्वहरूको विश्वास छ । राष्ट्रपति भण्डारी युएईको अबुधावीका युवराज तथा त्यहाँका सशस्त्र बलका नायब सर्वोच्च कमान्डर शेख महम्मद बिन जाहेद अल नेह्यानको निमन्त्रणामा औपचारिक भ्रमणका क्रममा जानु हुनेछ ।

नेपाल तथा युएईले सन १९७७ को जनवरी २२ मा कूटनीतिक सम्बन्ध स्थापना गरेका हुन् । दुबै मुलुक संयुक्त राष्ट्र सङ्घ तथा असंलग्न आन्दोलनका सदस्य भएको र अन्तराष्ट्रिय मामिलामा दुबैले समान धारणा व्यक्त गरिरहेको अवस्थामा दुई मुलुकबीच आपसी सद्भावना तथा सहयोगमा आधारित हार्दिक तथा मैत्रीपूर्ण सम्बन्ध रहिआएको छ । युएई नेपालका तेस्रो ठूलो व्यापार साझेदार हो तर नेपालको यस मुलुकसँगको व्यापार घाटा निकै ठूलो रहेको देखिन्छ । सन १९७१ डिसेम्बर २ मा सात इमिरेट्सको सघंको रूपमा संयुक्त अरब इमिरेट्स स्थापना भएको हो । यसमा अबुधावी, अज्मान, दुबई, सारजाँ, उम्म अल कुवैन, फुजइराह रस अल खैमा रहेका छन र यसको राजधानी अबुधावी हो । यो एक पेट्रोल निर्यातकर्ता मुलुक हो र यसको राजश्वको प्रमुख भाग यसैमा आधारित छ । दुबई यस मुलुकको सबैभन्दा ठूलो नगर हो ।

कात्तिक २८ गते राष्ट्रपति भण्डारी र युवराज नेह्यानबीच औपचारिक वार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार राष्ट्रपति र युवराजबीचका बैठक एवं छलफल आपसी हित र द्विपक्षीय सहयोगका विषयमा केन्द्रित हुनेछ । युएईमा दुई लाखभन्दा बढी नेपाली कामदार रहेको बताइन्छ । नेपाली कामदारका लागि पछिल्लो समय यो एक राम्रो गन्तव्य स्थलका रुपमा विकसित हुँदै गएको छ । भ्रमण क्रममा राष्ट्रपति भण्डारीले अबुधावीस्थित नेपाली दूतावासद्वारा आयोजना गरिने एक कार्यक्रममा नेपाली समुदायसँग अन्तरक्रिया गर्नुहुनेछ ।

राष्ट्रपति भण्डारीको भ्रमण टोलीमा उहाँकी छोरी निशाकुसुम भण्डारी, आपूर्तिमन्त्री जयन्त चन्द, राष्ट्रपतिका परराष्ट्र मामिला विज्ञ मदनकुमार भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेल र राष्ट्रपतिको कार्यालय एवं परराष्ट्र मन्त्रालयका उच्च अधिकारीका साथै सञ्चार माध्यमका प्रतिनिधिहरु रहनेछन । राष्ट्रपति भण्डारी यही कात्तिक ३० गते स्वदेश फर्कनुहुनेछ ।