इराकमा आईएसको आक्रमणबाट ७४१ जनाको मृत्यु

इराक । इराकको मोसुल शहरमा भएको लडाईंको क्रममा आईएस विद्रोहीले कम्तिमा ७४१ जनाको हत्या गरेको तथ्यांक सार्वजनिक भएको छ । इराकको लागि बनाइएको संयुक्त राष्ट्र सहायता मिशन र संयुक्त राष्ट्र मानवअधिकार उच्चयोगले बिहीबार यो रिपोर्ट सार्वजनिक गरेका हुन् ।

जिहादीहरुले धेरै संख्यामा मानिसहरुको अपहरण गरेको, मानव ढालको उपयोग गरेको, जबरजस्ती घरहरुलाई खाली गराएको र ज्यान जोगाउन भागिरहेकाहरुलाई पनि आक्रमण गरेको आरोप लागेको छ ।

संयुक्त राष्ट्र संघको मानवअधिकार प्रमुख जीद राद अल हुसेनले यसलाई जघन्य अपराध भनेका छन् र दोषीहरुले यसको जवाफ दिनुपर्ने बताएका छन् ।

उनले इराकी सेनाहरुले गरेको उल्लंघनको जाँचबुझ गर्नुपर्ने पनि बताएका छन् ।

हवाई हमलामा ४६१ जनाको मृत्यु

संयुक्त राष्ट्र संघका अनुसार युद्ध चर्किएको बेला इराकी सेना र अमेरिकी नेतृत्वमा मोसुल शहरमा हवाई हमला भएको थियो । नोभेम्बर २०१६ र जुलाई २०१७ को बीचमा भएको सो हमलामा ४६१ जनाको मृत्यु भएको थियो ।

यो सैन्य कारबाहीमा लगभग २ हजार ५२१ जनाको मृत्यु भयो भने १ हजार ६७३ जना घाइते भएका थिए । बीबीसी