आइभोरी कोस्ट अफ्रिकी फुटबल च्याम्पियन

आइभोरी कोस्टले यस वर्षको अफ्रिका कप अफ नेसन्स फुटबलको उपाधि जितेको छ । घानाविरुद्धको फाइनल खेलमा आइभोरी कोस्टले ‘सडन डेथ’मा नाटकीय रुपमा जित हात पारेको हो । निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । ३० मिनेटको खेलमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टी सुट आउटमा पुग्यो । पेनाल्टी सुट आउटको ‘सडन डेथ’मा गोलकिपर बौबाकर बेरीले निर्णायक पेनाल्टी बचाएपछि आइभोरी कोस्ट ९–८ गोलले उपाधि विजेता बन्यो ।
आइभोरी कोस्टले अफ्रिका कपको उपाधि हात पारेको यो दोस्रोपटक हो । यसअघि सन् १९९२ मा पनि उसले उपाधि जितेको थियो । उक्त समयमा पनि आइभोरी कोस्टले पेनाल्टी सुटआउटमा घानालाई नै ११–१० गोलले पराजित गरेको थियो । त्यसपछि भने आइभोरी कोस्ट सन् २००६ र २०१२ को फाइनलमा पराजित भएको थियो ।