एमाले नेताको दबावमा अमेरिका बस्ने स्वरुपा परिन् सागमा

swrupaकाठमाडौं- करिब दुई दशक यता अमेरिका बस्दै आएकी स्वरुपा खड्का एमाले नेताको दबावमा छनोट प्रतियोगितामै सहभागी नभएपनि १२ औं दक्षिण एसियाली खेलकुद (साग)मा सहभागी हुने भएकी छिन् ।

खड्कालाई नेपाल ओलम्पिक कमिटी (एनओसी) अध्यक्ष एवं एमाले नेता जीवनराम श्रेष्ठको दबावमा सागमा सहभागी गराउन लागिएको हो ।

छनोट प्रतियोगितामा सहभागी नभएका खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउनु खेलकुदको सामान्य मान्यताविपरीत मानिन्छ । त्यसमाथि स्थायी अमेरिकी ‘ग्रिन कार्ड’ भएका खेलाडीलाई राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउनु घातक निर्णय भएको एक खेल पदाधिकारीले बताए ।

एनओसीले खड्कालाई यस अघि पनि नेपालका तर्फबाट सुटुक्क अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागी गराएको थियो । २०७१ असोज ३ देखि १८ गते सम्म दक्षिणकोरियाको इन्चोनमा भएको १७ औं एसियाली खेलकुदमा एनओसीले राखेप र नेपाल एथलेटिक्स संघलाई समेत जानकारी नगराई खड्कालाई सहभागी गराएको थियो ।