यस्तो छ कांग्रेस–माओवादी गठबन्धनविरुद्ध एमालेको रणनीति

काठमाडौं- कांग्रेस र माओवादी केन्द्रको गठबन्धनविरुद्ध एमालेले तत्काल ‘आक्रामक प्रतिवाद’ नगरी ‘पर्ख र हेर’को रणनीति अख्तियार गर्ने भएको छ ।

सत्ता सहकार्यसँगै एक वर्षदेखि सुरु भएको गठबन्धनलाई दुई दलले स्थानीय निर्वाचन हुँदै प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि समेत निरन्तरता दिने गृहकार्य गरिरहेका वेला एमालेले ‘पर्ख र हेर’को रणनीति अख्तियार गर्ने भएको हो ।

यद्यपि, चुनाव सकिएपछि भने आक्रामक प्रतिवाद गर्ने एमालेको तयारी छ ।

एक वर्षअघि वाम गठबन्धन टुटेपछि एमाले र माओवादी केन्द्रका नेताहरूले तिक्तता पोखिरहेका छन् । तर, माओवादी केन्द्रले कांग्रेससँगकै गठबन्धन रुचाए पनि एमालेले भने उसका विरुद्ध तत्काल आक्रामक प्रतिवादमा नजाने नीति अख्तियार गरेको हो । उदार पुँजीवादी कार्यक्रम बोकेको कांग्रेस र समाजवादी कार्यक्रमको नीति अख्तियार गरिरहेको माओवादी केन्द्रको दुई परस्परविरोधी नीति र दलको गैरराजनीतिक गठबन्धन भएकाले कुनै पनि वेला तिक्तता बढ्ने र सरकारको कार्यशैलीले गठबन्धन भत्किन सक्ने आसमा एमाले देखिएको छ ।

विदेशी शक्तिको इसारामा आफूविरुद्ध दुई दलले मधेसकेन्द्रित दललाईसमेत मिलाएर निर्वाचनलक्षित बृहत् मोर्चाबन्दीको प्रयास गरिरहेको बुझाईमा एमालेले कार्यकर्तालाई एकताका साथ सामना गर्ने गरी तयारी थाल्न निर्देशन दिँदै आएको छ ।