भाषिक अन्तरक्रिया कार्यक्रम सम्पन्न

१० सेप्टेम्बर २०१७, उलविच, लण्डन

साहित्य चौतारी – यूकेले स्थानीय उलविच लाइब्रेरीको सभाकक्षमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बेलायतको निजी भ्रमणमा रहनु भएका बरिष्ठ कवि एवम् भाषाविद प्राज्ञ श्री मुकुन्द शरण उपाध्यायले नेपालमा भइरहेको नेपाली भाषाको शुद्धाशुद्धि सम्बन्धी संघर्षको बारेमा जानकारी गराउनु भयो । करीब दुर्इ दर्जन जति साहित्यकार, साहित्यानुरागी र नेपाली भाषाका बारेमा चासो राख्ने व्यक्तिहरूको सहभागीता रहेको सो कार्यक्रमको सञ्चालन कवि दिनेश पौड्यालले गर्नुभएको थियो । सो अवसरमा साहित्य चौतारी – यूकेले हालै विमोचन भएको ‘थेम्स् का काव्यिक छालहरु’ नामक काव्य सङ्गालो ५ प्रति पुस्तक उलविच लाइब्रेरीलार्इ प्रदान गर्यो । पुस्तक प्राज्ञ श्री उपाध्यायको बाहुलीबाट लाइब्रेरीका प्रवन्धक श्री टोनी मेरियोनलार्इ प्रदान गरिएको थियो ।

कार्यक्रमको थालनीमा साहित्य चौतारी – यूकेका संयोजक वासु शर्माले अन्तरक्रिया कार्यक्रमको बारेमा प्रकाश पार्दै नेपाली भाषीहरू र खास गरी लेखक कविहरूका लागि विज्ञसंगको अन्तरक्रिया लाभदायी हुने बताउनु भयो । ‘नेपाली भाषाको शुध्दाशुध्दि सम्बन्धमा विगत लामो समय देखि एउटा धारको प्रतिनिधित्व गर्दै त्रिभुवन विश्वविद्यालय र प्रज्ञा प्रतिष्ठानसंग संघर्ष गर्दै आउनु भएका भाषाविद प्राज्ञसंग एसरी प्रत्यक्ष अन्तरक्रिया गर्न पाउनुले विशेष महत्व राख्दछ’ संयोजक शर्माले भन्नुभयो ।

सहभागीहरूका विभिन्न प्रश्नहरूको जवाफ दिने क्रममा श्री उपाध्यायले बि. सं. २०३४ देखि थालनी भएको संघर्षको कथा सुनाउँदै हाल सम्म आइपुग्दा आफूले उठाएका कतिपय कुराहरू स्थापित हुँदै गएकोमा सन्तोष पनि व्यक्त गर्नुभयो । विशेषतः हिज्जे, वर्णविन्यास र नेपाली व्याकरणमा प्रशासनिक निर्णय र ठाडो हस्तक्षेप गरी क्षत विक्षत पार्ने कामका विरूध्द आफ्नो संघर्ष शुरू भएको बताउँदै अनेक प्रसंगहरूको चर्चा समेत गर्नुभयो । सो कार्यक्रममा भाषिक अन्तरक्रियाका साथै बिच बिचमा कविहरूले कविता वाचन गर्दा वातावरण काव्यमय बनेको थियो ।

 

साहित्य चौतारी – यूकेले यस्तो कार्यक्रमको आयोजना गरेर बेलायतमा नेपाली भाषा साहित्यको प्रवर्ध्दन गर्ने काममा थप एउटा र्इंटा थपेको प्रतिक्रिया सहभागीहरूले दिएका थिए