पेट्रोलियम पदार्थको मूल्य घट्यो

petrol price iकाठमाडौँ- नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

इन्डियन आयल कर्पोरेसनले यही माघ २ गते पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले इन्धनको मूल्य घटाएको हो । निगमले पेट्रोलमा रु पाँच र डिजेल र मट्टितेलमा रु ६ घटाएको छ ।

निगमका प्रवक्ता मुकुन्द घिमिरेका अनुसार नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर रु ९९ तथा डिजेल र मट्टितेल प्रतिलिटर रु ७५ पर्नेछ । यसअघि पेट्रोल प्रतिलिटर रु १०४ र डिजेल र मट्टितेल रु ८१ मा बिक्री वितरण हुँदै आएको थियो ।

यस्तै, रु २३२ प्रतिलिटरमा बिक्री वितरण हुँदै आएको हवाई इन्धनको मूल्य पनि घटेको छ । नयाँ मूल्यसूचीअनुसार हवाई इन्धनको मूल्य रु १६४ हुनेछ । तर निगमले खाना पकाउने ग्यासको भने मूल्य घटाएको छैन ।

गत असोज ३ गतेदेखि मागअनुसार आयात गर्न नसकेको निगमले करिब चार महिनापछि मूल्य समायोजन गरेको हो । निगमले २०७१ भदौ १३ गते स्वचालित मूल्य प्रणाली लागू गरेको थियो ।

स्वचालित मूल्य प्रणाली लागू गर्दै आएको निगमले मागअनुसार आपूर्ति गर्न नसक्दा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटे पनि बिक्री मूल्यमा समायोजन गर्न सकेको थिएन ।