उम्मेदवार छान्न कांग्रेस–एमालेको छुट्टाछुट्टै बैठक

काठमाडौं– असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचन मिति नजिकिएसँगै प्रमुख राजनीतिक दलहरु निर्वाचन हुने १३६ स्थानीय तहका उम्मेदवार छान्न व्यस्त बनेका छन् ।

उम्मेदवारी मनोनयन गर्ने समय आउन २ दिनमात्र बाँकी रहँदा प्रमुख राजनीतिक दलहरु उम्मेदवार टुङग्याउने प्रयासमा जुटेका हुन् ।

सत्तारुढ दल नेपाली कांग्रेसले गतसाता नै उम्मेदवारहरुको टुङगो लगाउने भने पनि विवाद हुँदा आज अन्तिम टुंगो लगाइने बताइएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवासमा बालुवाटारमा केहिबेरमा बस्ने पदाधिकारी बैठकले उम्मेदवारको नाम टुंगो लगाउने एक नेताले बताए ।

उम्मेदवारका आकांक्षी र गुट उपगुट व्यवस्थापन गर्दा कांग्रेसमा उम्मेदवार छनोटमा ढिलाइ भएको बताइएको छ । यद्यपी दुई नम्बर प्रदेश अन्तर्गतका केहि स्थानीय तह बाहेक अन्यमा उम्मेदवारको टुंगो लागिसकेको कांग्रेस नेता रमेश लेखकले दाबी गरे। उनले आजको बैठकले नामहरु सार्वजनिक गर्नसक्ने पनि बताए ।

उता प्रमुख प्रतिपक्ष दल एमालेले शनिबार वीरगन्ज महानगरपालिका र कलैया र सीमरा उपमहानगरपालिकाका उम्मेदवार तय गरेपनि बाँकीको अझै टुङग्याएको छैन ।

उम्मेदवार टुंगो लगाउनकै लागि आज पनि एमालेले बैठक बोलाएको छ । अध्यक्ष केपी ओली निवास बालकोटमा आईतबार ४ बजे बस्ने स्थायी कमिटी बैठकले जनकपुर उपमहानगरकसहितका अरु स्थानीय तहका उम्मेदवारको नाम टुंगो लगाउने एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।

यता, तेस्रो ठुलो सत्तारुढ दल माओवादीले शनिबारै २ नम्बर प्रदेशका स्थानीय तहका उम्मेदवारको टुङगो लगाउने भने पनि सकेन ।

प्रमुख दलहरु खासगरी कोसँग तालमेल गर्दा जित्न सकिन्छ भन्ने हिसाव कितावमा व्यस्त भएकाले पनि उम्मेदवार छनोटमा ढिलाई भएको बताइएको छ ।

माओवादीले एमालेबाहेक अन्य दलसँग तालमेल गर्ने बताइसकेको छ ।
राजपालगायतका दलहरुमा पनि उम्मेदवार छान्न सकस परिरहेको छ । यता संघीय समाजवादी फोरमले भने अधिकांश स्थानीय तहमा उम्मेदवारको टुंगो लगाइसकेको बताएको छ ।