आइएमओ महासचिवसमक्ष राजदूत सुवेदीले पेश गरे ओहोदाको प्रमाणपत्र

लन्डन । संयुक्त अधिराज्यका लागि नेपाली राजदूत तथा अन्तर्राष्ट्रिय सामुन्द्रिक संगठन (इन्टरनेशनल म्यारिटाइम अर्गनाइजेशन -आइएमओ) का स्थायी प्रतिनिधि डा. दुर्गाबहादुर सुवेदीले संगठनका महासचिव किट्याक लिमसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

३१ अगष्ट बिहान संगठनको लन्डनस्थित प्रधान कार्यालयमा आयोजित एक विशेष समारोहबीच सुवेदीले ओहोदाको प्रमाणपत्र पेश गरेको दूतावासले जनाएको छ ।

उक्त अवसरमा नवनियुक्त स्थायी प्रतिनिधि राजदूत सुवेदीले उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा र परराष्ट्र सचिव शंकरदास बैरागीले संगठनका महासचिव लिमलाई पठाएको शुभकामना सन्देश प्रस्तुत गरे ।

राजदूत सुवेदीले महासचिव लिमसमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्दै नेपालमा दुई वर्षअघि लोकतान्त्रिक र समावेशी संविधान जारी भएको र सो संविधानका आधारमा स्थानीय निकायको अधिकांश निर्वाचन सम्पन्न भई आगामी मंसिरमा प्रदेश र संघीयस्तरको निर्वाचन तयारी भइरहेको जानकारी गराएका थिए । शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुगेको र मुलुकमा राजनीतिक स्थिरता कायम भइसकेको परिप्रेक्ष्यमा नेपाल सरकारको मुख्य लक्ष्य आर्थिक विकास रहेको उल्लेख गर्दै स्थायी प्रतिनिधि डा. सुवेदीले अन्तर्राष्ट्रिय सामुन्द्रिक संगठनमा नेपाल सरकारका तर्फबाट आफूले सक्रिय सहभागिता जनाउने बताए ।

महासचिव लिमले ओहोदाको प्रमाणपत्र ग्रहण गर्दै आइएमओका लागि नेपालको स्थायी प्रतिनिधि नियुक्त भएकामा डा. सुवेदीलाई बधाइ दिए । लिमले सन् १९७९ देखि नेपाल संगठनको पूर्ण सदस्य रहेको जनाउंदै यसमा सक्रिय र सार्थक सहभागिताका लागि अनुरोध गरेका थिए ।

उक्त समारोहमा दूतावासका काउन्सेलर तथा उपनियोग प्रमुख शरदराज आरण र तृतीय सचिव भूपेन्द्रप्रसाद घिमिरेको पनि उपस्थिति थियो ।