निर्वाचन आचारसंहिता लगाएको भन्दै निर्वाचन आयोगविरुद्व खनिए गच्छदार

काठमाडौं– निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन हुनु ३ महिना पहिले नै आचारसंहिता लगाएको भन्दै उपप्रधानमन्त्रीले नै असन्तुष्टि जनाएको छ । उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले आचार संहिता लगाएर निर्वाचन आयोगले सरकारको हातखुट्टा बाँध्ने काम गरेको आरोप लगाए ।
शनिबार सप्तरीमा आयोजित पत्रकार सम्मेलनमा गच्छदारले तीन महिनापहिले नै निर्वाचन आचारसंहिता लगाउन जायज नभएको भन्दै यसले सरकारको दैनिक कामकाजमा नै प्रभाव परेको बताए ।
‘उम्मेदवारी दर्ता भए वा निर्वाचनको ३५ दिन अगावै आचारसंहिता लगाइन्थ्यो तर मंसिरमा हुने चुनावका लागि अहिले नै आचार संहिता लगाउनु जायज होइन’, उनले पत्रकार सम्मेलनमा भने, ‘यो गलत निर्णय आयागले सच्चाउनुपर्छ ।’

उनले सरकारले तीन महिना अगावै सरकारको कामकाज नै प्रभावित हुने गरी लगाइएको आचारसंहिताबारे पुर्नबिचार गर्न निर्वाचन आयोगलाई आग्रह गर्ने समेत बताए ।
आगामी मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले बुधबारदेखि आचारसंहिता लागू गरेको थियो ।
प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्नका लागि भन्दै निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आचारसंहिता लागू गरेको आयोगको भनाई छ ।
निर्वाचन आचारसंहिता नेपाल सरकार र नेपाल सरकारको मन्त्री, स्थानीय निकाय–तह, स्थानीय निकाय–तहका कर्मचारी, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी, सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी वल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभाग, निर्वाचनको काममा संलग्न कर्मचारी, तथा सार्वजनिक पद धारण गरेका ब्यक्तिमा लागू हुने छ ।