राष्ट्रपतिसँगको भेटमा दाहालले के भने ?

सत्ताधारी दलले संविधान लेखनको प्रक्रिया अगाडि बढाएपछि बिच्किएको एकीकृत माओवादीलाई वार्तामा ल्याउने पहलस्वरुप राष्ट्रपति डा. रामवरण यादवले शुक्रबार बिहान एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेता नारायणकाजी श्रेष्ठलाई शीतल निवासमा बोलाएर परामर्श गरेका छन् ।
करिब दुई घन्टा भएको भेटमा राष्ट्रपतिले शान्ति प्रक्रियाका साझेदार दलहरुको सहमतिमा संविधान जारी गर्ने गरी लचिलो हुन आग्रह गरेका थिए । जवाफमा दाहालले कांग्रेस र एमालेले नै वार्ताको ढोका बन्द गरेकाले सत्ताधारी दलबाटै वार्ताको पहल हुनुपर्ने तर्क राखेका बताइएको छ । भेटको बीचमै कांग्रेस नेता डा. शेखर कोइरालालाई पनि शीतल निवास बोलाइएको थियो ।