देउवाको अभिव्यक्तिले शिर निहुरियो : ओली

काठमाडौं- प्रमुख विपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनजस्तो नितान्त आन्तरिक मामिलालाई प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणको एजेन्डका रूपमा प्रवेश गराउँदै दिएको अभिव्यक्ति ‘लज्जास्पद’ रहेको बताएका छन् । उनले भने, ‘प्रधानमन्त्रीबाट व्यक्त धारणाले नेपालको शिर निहुरिएको छ, संसद्को निर्णयलाई धज्जी उडाइएको छ ।’

स्वास्थ्य परीक्षणका लागि बैंकक जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओलीले पत्रकारसँग भने, ‘देउवाले मुलुकको शिर निहुर्‍याउने काम गरे ।’‘प्रभु संसद्को गणितले गर्दा संविधान संशोधन पारित गर्न सकिनँ तर चाँडै गर्नेछु, मोदीसँगको संयुक्त पत्रकार सम्मेलनमा देउवाले यस्तो अभिव्यक्ति दिँदा देशकै शिर निहुरिएको छ’, ओलीले भने ।

‘प्रधानमन्त्रीले गिडगिडाउँदै लज्जास्पद ढंगबाट प्रभु मैले गर्न सकिनँ, कोसिस गरेको थिएँ । तर म गर्छु, त्यसका लागि वातावरण बनाइदिनुपर्‍यो भनेर याचना गर्नुभयो । त्यो वाक्य, शैली हाउभाउ हेर्दा देशकै शिर निहुरिन्छ । हामी सबैका लागि यो अत्यन्त दुःखको कुरा हो’, ओलीले भने ।

संविधान संशोधन नेपालको आन्तरिक मामिला भएको र त्यसको निर्णय नेपाली जनताका प्रतिनिधिमार्फत भइसकेको विषयमा प्रधानमन्त्रीले अर्को देशमा गएर बयान दिनु सार्वभौम राष्ट्रको अपमान भएको ओलीले जिकिर गरे ।

प्रधानमन्त्रीको यो अभिव्यक्तिबाट संसद्को निर्णयको समेत धज्जी उडाएको ओलीको तर्क थियो । संसद्ले संशोधन विधेयक अस्वीकृत गरेको थियो । ‘प्रधानमन्त्रीको अभिव्यक्तिले सार्वभौम संसद् र नेपाली जनताको अपमान भएको छ’, उनले भने ।

भारतीय प्रधानमन्त्री मोदीले सबैलाई समेटेर संविधान कार्यान्वयन गर्न आग्रह गर्नेबित्तिकै अत्तालिएका देउवाले आफूले दुई तिहाइ पुर्‍याउन नसकेको बिन्ती लाउँदै फेरि आवश्यक संख्या पुर्‍याएर पारित गर्ने विश्वास दिलाउनु राम्रो नभएको ओलीको तर्क थियो ।

‘प्रधानमन्त्रीको संविधान संशोधनबारे प्रतिरक्षात्मक अभिव्यक्तिले देशकै शिर निहुर्‍याएको छ । कसैलाई खुसी पार्न यस्तो अभिव्यक्ति दिनुभयो भन्न मलाई मन छैन । मलाई लाज लागेको छ’, पूर्वप्रधानमन्त्री ओलीले भने ।