लन्डन– गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको महासचिवमा पत्रकार फडिन्द्र भट्टराईले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
आगामी सेप्टेम्बर ९ तारिखमा हुने अधिवेशनका लागि आधिकारिक मनोनयन दर्ता गर्ने समय आउन तीन दिन बाँकी रहँदा भट्टराईले उम्मेदवारी घोषणा गरेका हुन् । बिहिबार सांझ प्लमस्टिडस्थित चौतारी रेष्टुरेन्टमा साउथ इष्ट लन्डन क्षेत्रका सामाजिक अगुवाहरु एबं सञ्चारकर्मीमाझ भट्टराईले उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
दुई दशकदेखि बेलायतमा रहेका भट्टराई गुल्मी जिल्ला समाज यूकेका वर्तमान उपाध्यक्ष हुन् । उनी पत्रकारिता, साहित्य र समाजसेवामा उत्तिकै सक्रिय छन् । भट्टराईले सामाजिक अगुवाहरुसँग निरन्तर परामर्श, आफ्नो आत्मविश्वास, अनुभवले उम्मेदवारी दिने निष्कर्षमा पुगेको बताए । उनले भने, ‘भावी कार्यसमितिको कार्यदिशालाई कार्यान्वयन गर्न मेरो गहन भूमिका रहनेछ ।’
साउथ इष्ट क्षेत्रबाटै महासचिवमा अर्जुन कटुवालले उम्मेदवारी दिने तयारीबीच भट्टराईले महासचिव दाबी गरेका हुन् । घोषणासभामा कटुवाल पनिसँगै थिए ।
एनआरएनए यूकेमा सदस्य र सचिवको जिम्मेवारी वहन गरिसकेका उनले संघमा सामाजिक संरचनालाई जोडेर समावेशी रुपमा लैजान चुनौति रहेको बताए ।
हयारी गुरुङले सञ्चालन गरेको घोषणासभामा एनआरएनए यूके उपाध्यक्ष दासु पाण्डे, कोषाध्यक्ष दीपक श्रेष्ठ, सह-कोषाध्यक्ष ललित न्यौपाने, युवा संयोजक हरि आचार्य, डार्टफोर्ड नेपलिज कम्युनिटीका अध्यक्ष दीपक थापा, रोयल बरो अफ ग्रीनवीच नेपलिज सोसाइटीका अध्यक्ष हरिगोविन्द गुरुङ, चाल्टन नेपाली समाजका अध्यक्ष टंक कँडेल, व्यवसायी तथा समाजसेवीहरु कर्ण शाही र नरेन्द्र कँडेल, विनोद ज्ञवाली, बालजङ्ग अर्याल, अर्जुन कटुवाल, कृष्ण गैरे, कुश बस्नेत, अर्जुन गौतम, रोमनाथ पाण्डे, जिवन सेन, अर्कराज तिमिल्सिना, शिव भण्डारी लगायतले भट्टराईलाई शुभकामना दिएका थिए ।






