लन्डन । जनसम्पर्क समिति बेलायतको आसन्न अधिवेसनमा विनय अधिकारीले उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । लामो समयदेखि बेलायतमा रहेर नेपाली काँग्रेसमा आबद्ध अधिकारीले उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने भएका हुन् ।
अाउँदाे सेप्टेम्बर दोस्रो हप्तामा हुन लागेकाे अधिवेशनमा अधिकारीले अाफ्रनाे उम्मेद्रवारी समग्र प्रवासी नेपालीहरुका लागि भएको बताए । ‘मेरो उम्मेदवारी बेलायतमा रहेका सम्पूर्ण दाजुभाइ दिदिबहिनीहरुको हक हित र नेपालका लागि हो ।’ उनले भने । अधिकारीले प्रवासमा रहेर आफ्नो देशका लागि धेरै नेपालीहरूले योगदान गरेको स्मरण गर्दै नेपाल सरकारले प्रवासी नेपाली प्रति हेर्ने दृष्टिकोण अझै प्रस्ट नभएको र आफू विजयी भएको अवस्थामा सो विषयमा नेपाल सरकारसँग समेत आवाज बुलन्द गर्ने बताए ।
विद्यार्थी कालदेखि नै राजनीतिमा आबद्ध हुँदै आएका अधिकारीले नेपाली काँग्रेसका जन्मदाता बीपी कोइराला र गणेशमान सिंह जस्ता नेताहरूको योगदानलाई बिर्से इतिहासले धिक्कार्ने समेत बताए । ‘राष्ट्रियता, लोकतन्त्र र समाजवादमा विश्वास गर्दै समाजको विकास अघि बढ्नुपर्छ । त्यसैले २००७ सालमा प्रजातन्त्र प्राप्ति पछि पनि देशमा विकासको मुहान फुट्न सकेको छैन ।’ उनले भने ।
अब युवा नै अघि नसरे देश विकास असम्भव रहेको औल्याउँदै उनले उपाध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी दिएको बताए । अधिकारी एक युवा व्यवसायी समेत हुन् । अधिकारी लामो समयदेखि बेलायतमा रहेर व्यावसायसँगै सामाजिक कार्यमा पनि सक्रिए छन् । उनले प्रवासी नेपालीहरूको हकहितका लागि आफ्नो उम्मेदवारी भएको बताएका छन् ।






