काठमाडौं- पश्चिम नेपालका बाँके, बर्दिया, दाङ र कैलाली जिल्लाका बाढी–डुबान पीडित राहतको पर्खाइमा छन्। डुबानग्रस्त कतिपय क्षेत्रका स्थानीयको उद्धारसमेत हुन सकेको छैन।
आइतबार गृहमन्त्री जनार्दन शर्माले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरे। नेपाली सेनाका हेलिकोप्टर पनि दिनभर परिचालन भए। तर, बाढीपीडितको उद्धार हुन सकेन।
बर्दिया, खैरीचन्दनपुरको मझरा टप्पामा ४६ घरधुरी फसेका छन्। उनीहरु ४८ घण्टादेखि उद्धारको प्रतीक्षामा छन्।
स्थानीय रामबहादुर चौधरीले हेलिकोप्टरलाई हात हल्लाएर उद्धार गर्न संकेत गरे पनि फर्केर गएको बताए।
ठाकुरद्वारा, बारबर्दिया, मधुवन, गुलरिया र बासगढी नगरपालिकाका बाढीपीडित रुख र विद्यालयको छतमाथि उद्धारको पर्खाइमा बसिरहेका छन्।






