काठमाडौं– देशभरका २६ जिल्ला बाढीपहिरोको चपेटामा परेका छन् । बाढीपहिरोबाट मृत्यु भएकाको संख्या ८९ पुगेको छ भने ५७ जना बेपत्ता छन् ।
गृहमन्त्री जनार्दन शर्माले सोमबार बिहान क्षतिको आँकडा प्रस्तुत गरेका थिए । गृह मन्त्रालयका अनुसार बाढी र पहिरोका कारण ३४ हजार घर डुबानमा परेका छन् । करिब ४ सय घर क्षतिग्रस्त छन् ।
सरकारले उद्धार, पुन:स्थापना तथा खाद्यान्नलगायत राहत वितरणका लागि सोमबार बिहानैदेखि नेपाली सेना र निजी क्षेत्रका सबै हेलिकप्टर भाडामा लिएर परिचालन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बिहानै बाढीपहिरोग्रस्त क्षेत्रको भ्रमणमा गएका छन् ।
सरकारले बाढीपहिरोबाट मृत्यु भएका व्यक्तिका परिवारलाई दुई/दुई लाख रुपैयाँ राहत दिने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले बताए । . मन्त्री बस्नेतका अनुसार प्रधानमन्त्रीको भ्रमणपछि थप राहत प्याकेजको घोषणा हुनेछ ।
घाइतेको तत्काल नि:शुल्क उपचार गर्ने निर्णय पनि भएको छ । राजधानीलगायत नजिकका सहरबाट खाद्यान्न किनेर वितरण गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको छ ।






