फोटो :फाइल तस्बिर
काठमाडौं: एमाओवादीका एक वरिष्ठ नेताले सत्ता पक्ष र विपक्षी दललाई जुधाएर नेपालमा राष्ट्रपति शासन लगाउने कसरत भइरहेको बताएका छन्।
एमाओवादीका महासचिव कृष्णबहादुर महराले राष्ट्रपति शासन लगाउने कसरत भइरहेको खुलासा गरेका हुन्। एकातर्फ कांग्रेस एमाले र अर्कोतर्फ एमाओवादी तथा मधेसी मोर्चालाई उचालेर राजनीतिक अस्थिरता बढाउने र त्यही अस्थिर संक्रमणमा राष्ट्रपतिलाई अघि सार्ने खेल भइरहेको बताए । तर राष्ट्रपतिलाई सक्रिय बनाउन लागेको समूह वा शक्तिबारे उनले केही खुलासा गरेका छैनन्।
क्रान्तिकारी पत्रकार संघका पत्रकारसँगको मंगलबार पेरिसडाँडामा भएको छलफलमा महासचिव कृष्णबहादुर महराले भने, ‘हामीलाई आन्दोलनमा नझुक भन्ने र कांग्रेस-एमालेलाई विपक्षीलाई पेलेर अगाडि बढन दबाब दिने शक्तिले सत्ता राष्ट्रपतिको हातमा पु:याउने कसरत गरिरहेको छ।’
महराको भनाई उदृत गर्दै एक सहभागीले अन्नपूर्णसँग भने’आन्दोलनले बिग्रिएको हाम्रो पार्टीलाई रुपान्तरण गर्छ र कांग्रेस-एमालेलाई सहमतिमा ल्याउन पनि बाध्य पार्छ।’ छलफलमा एमाओवादी स्थायी समितिका सदस्य अग्नी सापकोटाले आफूहरु आवश्यक परे संविधानसभा छोड्ने निष्कर्षमा पुगेको बताएका थिए।
कांग्रेस-एमाले भित्र पनि बहुमतीय प्रक्रियाको विपक्षमा माहोल बन्दै गएको,नागरिक समाज र अन्तराष्ट्रिय समुदाय माओवादी र मधेशवादीलाई बाहिर राखेर संविधान जारी गर्ने पक्षमा नरहेको जानकारी गराउँदै महराले त्यहि दबाबका कारण अध्यक्ष पुष्पकमल दाहालको अनुमति वेगर नै प्रधानमन्त्री सुशील कोइराला लाजिम्पाट पुगेर वार्ताको प्रस्ताव राखेको बताए। ‘हामीले पनि वार्ताको औचित्य सकियो भनेका छैनौ। वार्ताको संभावना छ तर बहुमतीय प्रक्रियामा प्रवेश गर्ने कदम सच्चिनुपर्छ’महराले भने।
महराले जेठमा स्थानीय निर्वाचन गराएर एमाओवादीलाई बढार्न सत्ता पक्ष अग्रसर भएको आरोप पनि लगाएका छन। काँग्रेस एमालेले जेठमा स्थानीय निकायको निर्वाचन गराएर एमाओवादीलाई बढार्ने,माओवादीसँग जनमत नरहेको अन्तराष्ट्रिय समुदायलाई देखाउने डिजाइन अनुसार काम गरिहेको पनि महराले बताए। निर्वाचन आयोगले माघ १५ देखि नै मतदाता नामावली अध्यावधिक गराउन थालेको छ।
मोहन बैद्य र नेत्रविक्रम चन्द नेतृत्वको माओवादीसँग पनि मोर्चावन्दीको प्रयास भइरहेको जानकारी पनि महराले गराए। ‘किरणजीहरु हामीलाई संविधानसभा छोडेर सडकमा आउनुपर्छ भन्नुहुन्छ। उहाँहरुले कुरै बुझ्नु भएको छैन। अहिले संविधानसभा छोडेर आन्दोलनलाई फाइदा हुँदैन’महराले भने’हामी उहाँहरुको लाइनमा होइन,उहाँहरु हाम्रो लाइनमा आउनुहुन्छ।’ चन्दले भने एउटै निशाना बनाएर आन्दोलन गर्न सकिने जानकारी गराएको पनि महराले बताए।