काठमाडौँ- नवगठित राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणाले राष्ट्रिय प्रजातन्त्र पार्टी दिशाहिन अवस्थाबाट गुज्रिएकाले नयाँ पार्टी गठन गर्नु परेको दावी गर्नु भएको छ ।
नयाँ पार्टी गठन गरेको भोलिपल्ट सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले दुई चरणको स्थानीय तह निर्वाचनबाट कमल थापाले जनताको विश्वास गुमाई सकेको पुष्टि भएपछि नयाँ पार्टी गठन गरेर मुलुकलाई नयाँ सोचका साथ अघि बढाउने निर्णय लिनुपरेको तर्क पनि गर्नुभयो ।
अध्यक्ष राणाले आफ्नो पार्टीले राष्ट्रवादी, प्रजातान्त्रिक मूलधारको प्रतिनिधित्व गर्ने दावी समेत गर्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टी भित्र नेतृत्वको स्वार्थलाई मात्रै प्राथमिकता दिने प्रवृतिले प्रश्रय पाएपछि पार्टीबाट अलग हुने निर्णयमा पुगिएको पनि उल्लेख गर्नु भयो ।
अध्यक्ष राणाले पार्टीलाई पारदर्शी ढंगले संचालन गर्ने दावी पनि गर्नुभयो । कमल थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आउनुभएका राणाले आइतबार नयाँ पार्टी गठन गर्नु भएको हो ।






