शिव भण्डारी
लन्डन–गुल्मी जिल्ला समाज यूकेको वार्षिक भेटघाट कार्यक्रम आज आइतबार भब्य रुपमा हुने तयारी हुदैछ । कार्यक्रमका लागि गुल्मी जिल्लाकै गायक सन्तु थापा एवं गायिका रुपा घर्ति मगर ले प्रस्तुति दिने छन् । युरोपबाट समेत दोहोरी गाएक बालाराम पुनसहित स्थानिय कलाकार सहभागी हुने छन् ।
समाजले हरेक वर्ष गर्दै आएको गुल्मेली विशेष कार्यक्रम यसवर्ष पनि गत वर्षमा जस्तै अल्डरसटको कनर्ट स्कुलको ग्राउण्डमा हुँदैछ । कार्यक्रमको तयारी तीब्र पारिएको छ । कार्यक्रमको संयोजन समाजका उपाध्यक्ष टोप पल्ली तथा सहसंयोजन सचिव वीर बलालले भब्य सम्पन्न गर्ने तयारी गरिरहेका छन् भने अन्य समाजका सल्लाहाकार सहित कार्यसमितिका टिमहरु पनि सफल बनाउन जुटिरहेका छन्।
यसैबीच स्थानीय अल्डरसटस्थित भेटघाट रेस्टुरेन्टलाई भोजनको समग्र व्यवस्थापनको जिम्मा दिएको छ। कार्यक्रममा बारबीक्यू, भलिबल प्रतियोगिता,प्रथम नौमति बाजाको विशेष प्रस्तुति त्यस अवसरमा रहनेछन् । कार्यक्रममा गुल्मेली नौमतीको बाजाको विशेष प्रस्तुति रहनेछ भने समाजका अध्यक्ष राम गलामी, संस्थापक अध्यक्ष ओमप्रसाद थापा तथा निर्वतमान अध्यक्ष अर्जुन गौतम लगायतले केक काटी कार्यक्रम शुभारम्भ गरिनेछ ।
सांस्कृतिक कार्यक्रमको सञ्चालन समाजकै प्रवक्ता मञ्जु खरेल भण्डारीको संयोजनमा कार्यसमिति सदस्य मुना खरेल तथा तारा भट्टराईले साथदिने छन् । कार्यक्रममा लण्डन सहित लेस्टर, बर्मिगहम, स्कटल्याण्ड लगायत बेलायतका विभिन्न भेगबाट हजार बढी गुल्मेलीहरु भेला हुन्छन् । कार्यक्रममा सहभागिताका लागि बेलायतबासी सम्पुर्ण गुल्मेली तथा गैरगुल्मेली नेपालीहरुलाई समाजका अध्यक्ष राम गलामीले आह्वान गरेका छन् । मध्यान्ह १२ बजे सुरु हुने कार्यक्रम दिनभर र साझ ७ बजे सम्म चल्नेछ ।
कार्यक्रममा सहभागी हुन १३ पाउण्डको टिकट छ भने ६ वर्ष देखि १२ वर्ष सम्मका लागि ७ पाउण्डमात्र शुल्क राखिएको छ । समाजले गर्ने अन्य कार्यक्रमका अलावा मनोरञ्जन र आपसी भेटघाटका हिसावले यो समर कार्यक्रमलाई बेलायतको नेपाली समुदायमा विशेष रुपमा हेर्ने गरिन्छ ।
सन २००७ मा बेलायतमा स्थापना भएको गुल्मी जिल्ला समाज यूकेले नेपालको गृह जिल्ला लगायत देशका अन्य स्थानमा गर्ने गरेको परोपकारी कार्यले समाजलाई एक उदाहरणीय संस्थाको रुपमा लिइन्छ ।
उक्त कार्यक्रमको स्थलगत रिपोर्ट विश्वभर पुर्याउन लन्डन नेपाल न्यूज डट कमले प्रत्यक्ष प्रशारण गर्ने भएको छ ।






