काठमाडौं- नेपाली कांग्रेसका स्वर्गीय सभापति सुशील कोइरालाको गृहजिल्ला बाँकेमा उनकै भाइबुहारी किरण कोइराला पार्टी सभापतिमा निर्वाचित भएकी छन् ।
प्रत्याशी निरञ्जनसिंह सिजापतिलाई १४१ मतले हराउँदै पाँच वर्षे कार्यकालका लागि किरण सभापतिमा निर्वाचित भएकी हुन् । संस्थापन पक्षकी कोइरालाले ३ सय ५८ मत ल्याइन् भने सिजापतिले २ सय १७ मत प्राप्त गरे ।
उनलाई गत माघ २५ मा भएको निर्वाचनमा तेस्रो र चौथो स्थान ल्याउने नारायण गौडेल र लक्ष्मीनारायण शाहको समर्थन थियो । गत माघ २५ गते भएको पहिलो चरणको चुनावमा कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि शुक्रबार दोस्रो चरणको मतदान भएको थियो ।
नवनिर्वाचित सभापति किरण कांग्रेस बाँकेका तत्कालिन सभापति स्वर्गीय डा. अरुण कोइरालाकी पत्नी हुन् भने दिवंगत सभापति सुशील कोइरालाकी भाइबुहारी हुन् ।
जिल्ला अधिवेशनबाट सचिव पदमा सिजापति समूहबाट उठेका तप्प पौडेल र कोषाध्यक्ष पदमा कोइराला समूहका निजामुद्दिन सिद्धिकी विजयी भइसकेका छन् ।






