कर्णेल लामा प्रकरणले असहज भयो’ प्रधानसेनापति

IMG-7676लन्डन । बेलायतको भ्रमणमा रहेका नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले साढे चार वर्ष अघि ब्रिटेनमा नेपाली सेनाका कर्णेल कुमार लामा पक्राउ परेपछि ब्रिटेनसंगको संबन्ध असहज भएको बताएका छन्।

बिहीबार बीबीसी नेपाली सेवासंगको अन्तर्वार्तामा प्रधानसेनापति क्षेत्रीले बहालवाला कर्णेल बेलायतमा आएर पक्राउ पर्नुमा ब्रिटिश सेनाको प्रत्यक्ष हात नभएको आफुहरुलाई विश्वास लागेको पनि बताए

सशस्त्र द्वन्द्वकालमा गोरुसिंगे व्यारेकमा दुईजना सर्वसाधारणलाई यातना दिएको अभियोगमा ब्रिटिश प्रहरीले सन् २०१३ मा लामालाई पक्राउ गरेको थियो। गत वर्ष एउटा  ब्रिटिश अदालतले सफाइ दिएपछि उनी स्वदेश फर्कीसकेका छन्।

प्रधानसेनापति क्षेत्रीले आफ्नो ब्रिटेन भ्रमणका क्रममा विगतमा बेलायती सेनाले नेपाली सेनालाई दिएका विभिन्न सैनिक सहयोग सम्बन्धी कुराहरुमा विचार विमर्शहरु  भएको र विशेष तालिमहरुजुन हामीले यहाँ गरी राखेका छौं त्यसलाई निरन्तरता दिने विषयमा पनि कुराकानी भएको बताए।

न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघीय मुख्यालयमा शान्ति सेनामा सैनिकहरु पठाउने मुलुकका सेनापतिहरुको दोश्रो सम्मेलनमा भाग लिएर क्षेत्री गत शनिबार लण्डन आइपुगेका हुन्।

लण्डनमा उनले ब्रिटिश रक्षा मन्त्रीलाई भेटनुकासाथै ब्रिटिश सेनाका स्थल सेनाध्यक्ष तथा अन्य वरिष्ठ सैनिक अधिकारीहरुसंग भेटगरेका थिए।

मंगलबार सेनापति क्षेत्रीले आफ्ना ब्रिटिश समकक्षी जनरल निकोलस प्याट्रिक कार्टरसंग भेट वार्ता गरेका थिए।

बुधबार उनले ब्रिगेड अफ गोर्खाजको मुख्यालय भ्रमण गरेका थिए।

नेपालमा सशस्त्र द्वन्द्वकालमा बन्दीहरुलाई यातना दिएको अभियोगमा ब्रिटिश प्रहरीले नेपाली सेनाका महासेनानी कुमार लामालाई सन् २०१३ मा पक्राउ गरेपछि नेपाली सेना ब्रिटेनसंग असन्तुष्ट रहेको थियो।

हेलिकोप्टर चाहिंदैन

दुई वर्ष अघि नेपालमा आएको भूकम्पपछि राहत वितरणमा सघाउन ब्रिटिश सरकारले पठाएका तीनवटा चिनुक हेलिकोप्टरहरु नेपालले चाहिंदैन भनेपछि फर्किएका थिए।

नेपाल जाने अनुमति पर्खंदै भारतमा कैयौं दिनसम्म ती हेलिकोप्टरहरलाई राख्दा ब्रिटिश सरकारको तीस लाख पौण्ड जति खर्च भएको ब्रिटिश सन्चारमाध्यमहरुले बताएका थिए।

सो घटनालाई लिएर केही असमझदारी भएको तर आफ्नो भ्रमण पछि दुबै पक्षबीच राम्रो समझदारी कायम भएको पनि प्रधानसेनापति क्षेत्रीले बताए।

सेनापति क्षेत्रीको सम्मानमा लण्डनस्थित नेपाली दूतावासद्वारा सोमबार साँझ आयोजित एक समारोहमा बोल्दै बेलायतकालागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले राष्ट्रसंघीय शान्ति सेनामा सहभागी भएर नेपाली सेनाले विश्व शान्तिमा योगदान पुराइरहेको बताए। सशस्त्र विद्रोहीहरुलाई सफलतापूर्वक नेपाली सेनामा समायोजन गर्ने कामले नेपालको शान्ति प्रकृया विश्वमै एक उदाहरण बनेको पनि उनले बताए।

सो अवसरमा बोल्दै प्रधानसेनापति क्षेत्रीले नेपाल र ब्रिटेनका सेनाबीचको संबन्धले समयको परीक्षा सफलतापूर्वक उत्तीर्ण गरेको बताए। उनले नेपाल र ब्रिटेनको संबन्ध युद्धबाट शुरु भएपनि गएको २०० वर्ष यता दुबै देशका जनता र सेनाबीच निकट संबन्ध कायम भएको बताए।

आफ्नी श्रीमती रीता क्षेत्रीसहित उनी शु्क्रबार नेपाल फर्कने कार्यक्रम रहेको बताइएको छ।