भैंसी चोरेको आरोपमा शाहरुखको कुटीकुटी हत्या

भारतको उत्तर प्रदेशस्थित बरेलीमा केही मानिसहरुले एक युवकको कथित रुपमा भैंसी चोरेको आरोपमा कुटीकुटी हत्या गरेका छन् । पुलिसले उक्त घटनामा संलग्नको आंशकामा करिब दुई दर्जनविरुद्ध हत्याको मुद्दा दर्ता गरेको छ तर अहिलेसम्म कसैलाई पनि पक्राउ गरिएको छैन ।

बरेलीका नगर पुलिस सुपरिटेन्डेन्ट अभिनन्दन सिंहले शाहरुखको भैंसी चोरेर भाग्ने क्रममा मानिसले समातेर कुटीकुटी हत्या गरेको बताएका छन् । उनले भने, ‘शाहरुख र उनका तीन साथी भैंसी चोरेर भागिरहेका थिए । गाउँलेहरुले उनीहरुलाई लखेटेका थिए । बाटोको बीचमा ठूलो खाल्डोमा पानी जमेको कारण अन्य दुई पौडी खेलेर भागे तर शाहरुखलाई पौडी खेल्न नआउने भएको उनलाई गाउँलेले समातेर कुटे । पोष्टमर्टम रिपोर्टमा उनको आन्तरिक चोटको कारण मृत्यु भएको बताइएको छ ।’

पुलिसले शाहरुखका दाइको निवेदनमा २० देखि २५ अज्ञात व्यक्तिविरुद्ध हत्याको आरोप दर्ता गरेको छ । एसपी सिटी अभिनन्दन सिंहले भैंसी चोरी भएका व्यक्तिले पनि शाहरुख र उनका साथीविरुद्ध मुद्दा दर्ता गरेका छन् ।

दुबईमा काम गर्ने १७ वर्षे शाहरुख बकरइदको मौकामा पारेर छुट्टीमा घर फर्किएका थिए । शाहरुखका दाइ फिरोज खानले बीबीसीलाई भने, ‘मंगलबार बेलुका गाउँका दुई तीनजना केटाहरुले उनलाई आफूसँगै लगे । अबेर रातीसम्म उनी घरमा आएनन् । बुधबार बिहान केन्ट थानाका मानिसहरु हाम्रो घरमा आएर शाहरुखलाई जिल्ला अस्पतालमा भर्ना भएको जानकारी दिए । उसले सास फेरिरहेको थियो तर केही बोल्न सकिरहेको थिएन । ’

‘भैंसी चोरेका आरोपमा विश्वास छैन’

फिरोजलाई शाहरुखले भैंसी चोरेको आरोपमाथि विश्वास छैन । उनले भने, ‘मलाई उनले भैंसी चोरेको कुरा विश्वास नै छैन किनभने उनी दुबईमा कमाउँथे र केही दिन पछि फर्कने तयारीमा थिए । विदेशमा आफैंले कमाउने व्यक्तिले किन भैंसी चोर्छ ?’

फिरोज भन्छन्, ‘उनका साथीहरुले उनलाई सँगै लिएर गए । जब झगडा भयो तब उनका साथीहरु भागे । उनलाई एक्लै पाएर उनको लट्ठी र डण्डाले कुटे ।’

फिरोजका अनुसार शाहरुख पाँच दाजुभाइ र दुई दिदीबहिनीमध्ये सबैभन्दा कान्छा थिए । उनले भने, बुवा बिरामी भइरहनुहुन्छ र खेलौना बेच्ने काम गर्नुहुन्छ । हामी सबैजना सानोतिनो काम गरेर आफ्नो पेट पाल्छौं तर कहिले पनि केही चोरेका छैनौं । शाहरुख यसै पनि निकै सोझो थिए ।’

एजेन्सी