काठमाडौं– उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले प्रधानमन्त्री शेरबहादुर देउवालाई स्वागत गर्न भारत आतुर रहेको बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको मिति दुवै देशका राजदुतहरुलाई तय गर्ने जिम्मेवारी दिइएको पनि मन्त्री महराले संसदमा जानकारी गराएका छन् ।
व्यवस्थापिका संसदको बुधबारको बैठकमा आफ्नो भारत भ्रमणबारे जानकारी दिँदै मन्त्री महराले भारतीय समकक्षी सुष्मा स्वराजसँगको भेटमा द्धिपक्षीय हितका विविध विषयमा छलफल भएको पनि बताए । महराले भारतले नेपालमा संचालन परियोजनाहरु छिटो सम्पन्न गरिसक्ने प्रतिवद्धता जनाएको पनि संसदलाई जानकारी दिए ।
परराष्ट्रमन्त्री महराले भारतमा लागू गरिएको नयाँ कर नीतिले नेपालमा पारेको समस्या समाधान गर्न सचिवस्तरीय बैठक बस्ने सहमति भएको जानकारी गराए ।
भारतले एक साता अघि लागू गरेको नयाँ कर नीतिका कारण नेपाली मालबहाक कन्टेनरहरु सिमावर्ती क्षेत्रमा रोकिएका छन् भने राजस्व असुलीमा समेत समस्या देखिएको छ । संसदमा परराष्ट्रमन्त्री महराले आगामी अगष्टमा हुने विमस्टेक बैठकमा भाग लिन भारतीय विदेश मन्त्री स्वराज नेपाल आउने जानकारी दिए ।
परराष्ट्रमन्त्री महराले स्थानीय तह दोस्रो चरणको निर्वाचन पनि सफलतापूर्वक सम्पन्न गरेकोमा भारतले नेपाल सरकारलाई बधाई दिएको उल्लेख गरे । महरा भारतीय समकक्षी सुष्मा स्वराजको निमन्त्रणमा गत आईतबार भारत भम्रणमा गएका थिए ।






