लण्डन । बेलायतमा पहिलो पटक भएको १० औं नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड २०१७ सम्पन्न भएको छ ।
थर्ड आइ र बक्स अफिस इन्टरनेशनल ग्रुपद्वारा आयोजित शनिबार बेलायत अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न बिशेष समारोहमा बीपी कोइरालाको महान कृति तीन घुम्तीमा आधारित चलचित्र तीन घुम्तीलाई विशेष फिल्म विधाको अवार्ड प्रदान गरिएको छ।
नायक ध्रुव दत्तले त्यस विशेष चलचित्र अवार्ड लिएका हुन्। अवार्ड समारोहमा तीन घुम्तीका नायक दत्तलाई नेपाली चलचित्रका चर्चित हिरो आर्यन सिग्देलको हातवाट प्रदान गरिएको हो।
विशेष फिल्म विधाको अवार्ड प्राप्त गरेपछि तीन घुम्तीका नायक दत्तले अवार्ड आयोजकहरुलाई तीन घुम्ती चलचित्रका तर्फवाट धन्यवाद ज्ञापन गरेका छन्। चलचित्र तीन घुम्तीका नायक भएको हैसियतले आफू अभिनित चलचित्रले विशेष चलचित्रको क्याटागोरीमा अवार्ड पाउंदा निश्चित रुपमा आफूलाई अत्यन्त खुशी लागेको नायक दत्तले व्यक्त गरेका छन्। ।
यसै बिच नायक दत्त अभिनित यो बर्षकै बेलायतको लोकप्रिय नाटक जीगिषाको सर्टदृश्य गरेर अवार्ड समारोहलाई रोचकता प्रदान गर्ने कार्य दत्तले गरेका थिए।
नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी प्रमुख अतिथी रहेको उक्त समारोहमा करिष्मा मानन्धर, आर्यन सिग्देल, केकी अधिकारी, योगेश्वर अमात्य, असिस्मा नकर्मी, वर्षा सिवाकोटी, सुरबीना कार्की, अनुप बिक्रम शाही, सलोन बस्नेत, कुशल थापा, नम्रता योगी, शर्मिला बर्देवा, आनन्द कार्की, सन्जिवनी, सञ्चारकर्मी सुमन खरेल, श्याम अर्याल र बेलायतमै बस्ने स्थानीय कलाकारहरुले सयौं दर्शकलाई मनोरञ्जन प्रदान गरे ।








