कृषिप्रधान देशमा कृषि मन्त्री छैनन्, तर मनाईदैछ राष्ट्रिय धान दिवस !

काठमाडौं- आज देशले धान दिवस मनाउँदै छ । तर, देशमा कृषि मन्त्री चाहीँ छैनन् । कृषिप्रधान देशले कृषिमन्त्री विना आज धान दिवस मनाउँदै छ ।

धानबालीका विभिन्न पक्षलाई उजागर गर्दै यस वर्ष ‘दुई बाली धान खेतीको विस्तार, आर्थिक समृद्धिको आधार’ मूल नाराका साथ धानलाई राष्ट्रिय अर्थतन्त्रको आधारस्तम्भ रुपमा चिनाउन विभिन्न सरोकारवालाको समन्वय तथा सहकार्यमा चौधौँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०७४ मनाइँदैछ ।

धान दिवसको अवसर पारेर राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठान वाली विज्ञान महाशाखाले औपचारिक कार्यक्रमसहित आज धान दिवस मनाउँदैछ ।
मन्त्रीपरिषदे विस्तारमा ढिलाई भएपछि अहिले कृषि मन्त्रीको जिम्मा प्रधानमन्त्रीको काँधमा छ । त्यसो त प्रधानमन्त्रीसँग अहिले २३ मन्त्रालय छन् ।

देउवा गत २३ जेठमा प्रधानमन्त्रीमा निर्वाचित भएको अर्कोदिन पहिला चरणमा सात मन्त्री बनाएर मन्त्रीपरिषद् विस्तार गरेका थिए । त्यसपछि सत्तागठबन्धन भित्रका विवादपछि मन्त्रीपरिषद् विस्तार ढिलाई भएको छ । यहीँ ढिलाईका कारण प्रधानमन्त्री चयन भएको तीन साता वित्दा पनि देशले कृषि मन्त्री पाएको छैन् ।

यस अघिका दुई कृषिमन्त्री धान दिवसमा चर्चामा आएका थिए । हरि पराजुली महिलासँग टासिएर फोटो खिचाएपछि विवादमा परेका थिए भने अर्का कृषि मन्त्री हरिबोल गजुरेल गमलामा धान रोपेर विवादमा तानिएका थिए ।

कृषि विकासमन्त्रीको समेत कार्यभार सम्हाल्लेका प्रधानमन्त्री देउवाले धान दिवसका अवसरमा नेपाली नागरिक तथा कृषक दाजुभाइ दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् ।

देउवाले आज शुभकामना सन्देश जारी गर्दै यस महोत्सवलाई सभ्य, भव्य र उल्लासपूर्वक मनाई नेपालमा धान संस्कृतिको जगेर्नामा हातेमालो गर्नुहुन सम्बन्धित सबैमा अनुरोध गरेका छन् ।

आगामी केही वर्षमा धान, चामलमा आत्मनिर्भर हुने राष्ट्रिय सङ्कल्पलाई साकार पार्न कृषि विकास मन्त्रालयबाट धानबाली प्रवद्र्धनमा रणनीतिक प्रयासको आवश्यकता महसुस गरी दुई बाली धान खेतीका लागि चैत धान र बर्खे धान प्रवद्र्धनका प्रयाससमेत भइरहेको सन्देशमा उल्लेख छ ।

नेपालमा धानको आर्थिक, सामाजिक एवम् सांस्कृतिक महत्व रहिआएको तथा हरेक सामाजिक एवम् सांस्कतिक कार्यमा धानकै प्रधान्यता रहेको प्रधानमन्त्रीले सन्देशमा भनेका छन् ।

नेपालको कुल गार्हस्थ्य उत्पादनमा धानको योगदान २९ दशमलव ४ प्रतिशत रहेको छ । हरेक वर्ष असार १५ गते धान दिवस मनाइन्छ ।