कथा सङ्ग्रह सार्वजनिक

लेखक ठाकुर पण्डितद्वारा लिखित ‘स्ट्रप्सिल’ नामक कथा सङ्ग्रह सार्वजनिक भएको छ । कथामा देशको भौगोलिक यथार्थ, सामाजिक भोगाइ र परिवेषलाई लेखकले सुन्दर शैलीमा प्रस्तुत गरेका छन् । यात्रा, मनोविज्ञान, साहित्य सिर्जना–अभ्यास, सांस्कृतिक, प्राकृतिक, विकास, व्यङ्ग्य, राजनीति र रोमान्सका झलक पनि कथा सङ्ग्रहमा भेटिन्छ ।
कथा सङ्ग्रहमा मेरो अछामको कथा, भूतको आतङ्क, ८० वर्षे बूढाको डायरी र स्ट्रेप्सिल सात खण्डमा प्रस्तुत गरिएको छ ।
कथा सङ्ग्रहको आज यहाँ आयोजित एक कार्यक्रमबीच लोकार्पण गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति डा गङ्गाप्रसाद उप्रेतीले व्यक्तिको सिर्जना साहित्य क्षेत्रका लागि महत्वपूर्ण आयाम हुने बताउनुभयो ।
“पछिल्लो समय डाक्टर, पाइलट र इन्जिनियर साहित्य क्षेत्रमा प्रवेश गरी समाज सेवाको मार्गमा लाग्ने लडह चलेको छ, यो साहित्य क्षेत्रका लागि खुसीको कुरा हो । लेखक पण्डितको कथा सङ्ग्रह त्यसैको प्रतिविम्ब हो”, उहाँले भन्नुभयो ।
सङ्ग्रहको प्रा डा सनतकुमार वस्ती र लेखिका गीता त्रिपाठीले समीक्षा गर्दै कथाको सुन्दर लेखन पक्षको बेजोड प्रस्तुतिले पाठकलाई निरन्तर पढ्न बाध्य गराउने धारणा राख्नु भयो ।
पुस्तकको बिक्रीबाट लेखकले पाउने रोयल्टीमध्येबाट १५ प्रतिशत चेपाङ समुदायको लोपोन्मुख संस्कृति र सम्पदाको अध्ययन तथा संरक्षणमा खर्च गरिने प्रशासक ह्यात्रुङ मिडियाका निर्देशिका एलिना दुलालले जानकारी दिनुभयो ।