वुटवल – गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले स्थानीय निर्वाचनमा माओवादीले विजय हाँसिल गरेको ठाउँलाई आधार ईलाकाको रुपमा विकास गरिने बताएका छन् । शनिवार बुटवल उप–महानगरपालिका–८ मा आयोजित चुनावी भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताएका हुन् । ‘हामीले बिजय हासिल गरेको ठाउँ आधार ईलाका हुन्छ, त्यहीँबाट समाजवादको अभ्यास गर्छौँ’ उनले भने, ‘रुकुममा बिजय हासिल गरेको क्षेत्रमा आर्थिक विकास कसरी गर्ने भन्नेबारे ट्रेनिङ्ग शुरु भैसकेको छ, अब कालिकोट र हुम्लामा पनि ट्रेनिङ्ग शुरु गर्छौँ ।’
माओवादीबाट टुक्रिएर गएका मोहन वैद्य, बावुराम र विप्लवले केही गर्न नसकेको उल्लेख गर्दै मन्त्री शर्माले प्रश्नात्मक शैलीमा भने, ‘विप्लवले के गरे ?, कमरेड किरण र विप्लवलाई अब यही पार्टीमा ल्याउँछौँ ।’
‘बावुरामले पनि माओवादी यतै रहेछ भन्ने बुझिसक्नुभो, केही दिनअघि भेट भएको थियो, यतै आउनुस भनेको छु’ गृहमन्त्री शर्माले भने, ‘राजनीति कर्णालीमा डुंगा तरेजस्तै रहेछ, पहिला केहो केहो लाग्ने पारी पुगेपछि मात्र थाहा हुने ।’
पहिलो चरणको निर्वाचनमा राप्रपासँग तालमेल गरेर एमाले फेल भएको दावी गर्र्दै मन्त्री शर्माले माओवादी केन्द्र फेल नभएको बताए ।
‘देशभर माओवादीको पक्षमा लहर आएको छ, हामी अरु पार्टीभन्दा पछि छैनौँ प्रतिस्पर्धामा छौं’ उनले भने ।
‘स्थानीय सरकारले सरकारी स्कुललाई बोर्डिङको तहमा उठाउन प्रयत्न गर्नुपर्छ, अहिले रोगको मुल्य बढेको छ जनतालाई सुलभ स्वास्थोपचारको ग्यारेन्टी हामीले गर्नुपर्छ’ मन्त्री शर्माले भने, ‘मुलुक उलट पुलट बनाउन धेरै समय नलाग्ने अनूभुती मैले उर्जामन्त्री हुँदा गरेको छु, कम्तिमा १५ बर्षमा नेपाललाई सम्पन्न बनाउन सकिन्छ ।’
‘हामीले शासक धेरै चुनिसक्यौँ, अब सेवक चुनौँ’ मन्त्री शर्माले भने, ‘अबको माओवादी एजेन्डा संवृद्धि हो, हामी हाम्रा उम्मेद्वारलाई शासक बन्न दिँदैनौँ, सेवक बनाउँछौँ ।’
शनिवार साँझ रुपन्देही आएका गृहमन्त्री शर्माले सिद्धार्थ नगरपालिका–६ मा माओवादी केन्द्रका अगुवा कार्यकर्ता र ब्यवसायीसँग भेटघाट गरेका थिए । त्यस्तै बुटवल उप–महानगरपालिका–५ मा विभिन्न पार्टी परित्याग गरेर आएकालाई माओवादी केन्द्रमा प्रवेश गराउँदै मन्त्री शर्माले मक्का मदिनाबाट हज गरेर फर्केकाहरुलाई सम्मान गरे ।






